अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज खोजी शुरु

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१४ मा प्रकाशित

संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो ।

यसै अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन । मंगलबार समितिको बैठकमा उपस्थिति हुनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए÷नआएको एकीन नभएको जवाफ दिनुभयो । उहाँले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका समेत ब्यक्त गर्नुभएको छ ।

बैठकमा समितिका सभापति रामनारायण बिडारीले सुगौली सन्धियताको नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताउनुभयो । समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू