अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

संसद बैठक , सत्ता पक्षलाई चैन, अरुलाई ऐन ?–नेपाली काँग्रेस

बिआरटीनेपाल २०७६ साउन २१ गते ९:१० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उल्लंघन गर्दै नेकपाले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकको सून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले नेकपाले कानुन मिचेर पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सार्वजनिक जग्गालाई पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई भोगाधिकार दिएकोमा नेकपाले कानुन मिचेर आफ्नो पार्टी कार्यालय सञ्चालन गरेको उल्लेख गर्दै उहाँले सत्तारुढ दलको क्रियाकलापले ‘सत्ता पक्षलाई चैन अरुलाई ऐन’ भन्ने देखाएको टिप्पणी गर्नुभयो । त्यसैगरी कांग्रेसकै सांसद उमा रेग्मीले विशेष समयमा बोल्दै सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उलंघन गर्दे सत्तारुढ दल नेकपाले सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी कार्यालय सञ्चालन गरेको भन्दै त्यसबारे सदनलाई सत्यतथ्य जानकारी गराउन माग गर्नुभयो ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय संचालन गर्न दिएको छ । सरकारबाट भोगाधिकार पाएको जग्गा तेश्रो पक्षलाई भाडामा दिन नपाउने कानुनी व्यवस्था विपरित नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको भन्दै काँग्रेसले कानुन कार्यान्वयनमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएको हो । प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि सो जग्गा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू