अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

माइती नेपाललाई सहयोग गर्न खुल्यो माइती क्याफे

नाफाको ५१ प्रतिशत चेलीबेटीको उद्धार र पुनस्थापनामा खर्च हुने

बिआरटीनेपाल २०७६ साउन २० गते ११:१६ मा प्रकाशित

नाफाको ५१ प्रतिशत चेलीबेटीको उद्धार र पुनस्थापनामा खर्च हुने

काठमाडौँ-चेलीबेटी बेखबिखनविरुद्ध क्रियाशील माइती नेपालमा आश्रितहरूलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरूले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दातृ संस्था फ्री गर्लको संयोजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे सञ्चालनमा ल्याएको हो । 

यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरूको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे सञ्चालक आफ्नो नेपालसँग आवद्द समीर पन्थीले बताए । ‘मुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने छ,’ उनले भने । क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्यूनीकरण गर्ने अपेक्षा क्याफे सञ्चालकको छ । 

माइती क्याफेमा माइती नेपालमा आश्रित चेलीबेटीहरूले रोजगारी पाएका छन् । ‘माइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरूको पुनर्जीवनका लागि पनि यो क्याफे महत्त्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ पन्थीले भने, ‘माइती नेपालमा रहेका चेलीहरूलाई यस क्याफेमा संलग्न गराएर उनीहरूलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तर घुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ ।’ 

आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न व्यवसाय सञ्चालन गरेका थिए । देशमै केही गर्नु पर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उनले सामाजिक अभियान र व्यवसायीक काम गर्दै आएका छन् । उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राणा र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो । 

क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरू पाइने छ । यहाँको परिकाकारे मूल्य पनि निकै सस्तो राखिएको पन्थीले दाबी गरे । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरूको जानकारी राखिएको छ । ‘ग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्,’ पन्थीले भने, ‘खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलीबेटीको उद्धार र पुनस्थापनामा खर्च हुने कुराले उनीहरूलाई फरक आनन्दको अनुभूति दिने छ ।’ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू