अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य, विशेष समिति गठन

बिआरटीनेपाल २०७६ साउन २० गते १०:२६ मा प्रकाशित

झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसद्को गतिरोध अन्त्य भएको हो ।

संसद् सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरूबिच संसद्को गतिरोध अन्त्य गर्ने र पुनः यस किसिमको गतिरोधको अवस्था उत्पन्न हुन नदिन विशेष समिति गठन गर्ने सहमति भएपछि झन्डै एक महिना लामो गतिरोध अन्त्य भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार अध्ययन तथा सुझाव संसदीय विशेष समितिको संयोजकमा सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ । समितिको सदस्यहरूमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सांसद विन्दा पाण्डे, प्रतिपक्ष दल काँग्रेसको तर्फबाट संसदीय दलका सचेतक पुष्पा भुसाल र सांसद मीनेन्द्रप्रसाद रिजाल, राजपाको तर्फबाट संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका तर्फबाट सांसद उमाशङ्कर अरगरिया रहनुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख महराले विशेष समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो । बैठकबाट प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको हो ।

सर्लाहीमा गएको असार ५ र १४ गते भएका घटनाको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गर्न माग गर्दै विपक्षी दल काँग्रेस र राजपाले संसद् अवरोध गर्दै आएका थिए । तर, विपक्षी दल उक्त मागबाट पछि हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू