अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

बुटवलमा थारु सङ्ग्रहालय बन्ने

बिआरटीनेपाल २०७६ साउन २० गते १०:१६ मा प्रकाशित

बुटवलमा थारु संस्कृति झल्किने गरी थारु सङ्ग्रहालय बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले मोतीपुरको सौरहीया नजिकैको नदी उकास जग्गामा संग्रालय बनाउने भएको हो। पाँच बिघा क्षेत्रफलमा गुरुयोजना बनाएर थारु संग्रालय बनाउने तयारी गरेको उपमहानगरपालिकाले जनाएको छ।

सङ्ग्रहालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ। सङ्ग्रहालयमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्रीहरू राखिने छ। रुपन्देहीको धेरै थारु समुदाय रहेको क्षेत्रका रूपमा मोतीपुरलाई पनि लिइन्छ।

डीपीआर बनाइरहेको परामर्शदाता कम्पनी रिप्पल ट्रेनिङ एन्ड कन्सल्टेन्ट सर्भिसेस प्राली काठमाण्डौंका प्राविधिक र बुटवल उपमहानगरपालिकाका प्राविधिकलाई लिएर मोतीपुरमा पुगेका प्रमुख, उपप्रमुखसहितको टोलीले समुदायको सुझाव सङ्कलन गरेको छ।

थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजाउने, थारू गाउँको झल्को दिने परम्परागत घरहरू बनाइने, कोठा र देउता राख्ने ठाउँ पनि तयार पारिने छ। थारू समुदायका पुराना गहना र कपडा पनि सङ्कलन गरेर त्यहाँ राखिने उपप्रमुख गुमा देवी आचार्यले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा बडघर, इनार, डिउहार, बगैँचा, माछा पोखरी, कृषिका परम्परागत उपकरण, सांस्कृतिक झल्को दिने प्रदर्शनी कक्षसमेत राख्ने गरी डिजाइन बनाउन प्राविधिकलाई सुझाव दिइएको छ। साबिक मोतीपुर गाविसका अधिकांश क्षेत्रमा थारु समुदायको बाक्लो बसोबास छ। पुरानो र नयाँ पुस्ताबिच ठुलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण हुन नसकेको अवस्थामा बुटवलले उदाहरणीय कामको थालनी गरेको स्थानीयहरूले बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू