अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

अस्ट्रेलियामा कार दुर्घटनाका चालक सागर भट्टराईमाथि प्रहरीद्वारा सातवटा अभियोग दर्ता

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:१३ मा प्रकाशित

अस्ट्रेलियाको दक्षिण न्यूसाउथवेल्समा गत हफ्ता कार दुर्घटनामा संलग्न चालक सागर भट्टराईलाई न्यु साउथ वेल्स प्रहरीले सातवटा अभियोग दर्ता गरेको छ । २२ वर्षीय चालक भट्टराईलाई सिड्नी विमानस्थलबाट गत शुक्रबार साँझ ७ बजे पक्राउ गरेको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ ।

पक्राउ गरेपछि उनलाई सिड्नीको मास्कट प्रहरी कार्यालयमा लगिएको थियो । उनलाई २ वटा ज्यान जानेगरी लापरवाहीका साथ ड्राइभिङ गरेको, जोखिमपूर्ण ड्राइभिङले गर्दा गम्भीर चोट लागेको लगायतका सातवटा अभियोग प्रहरीले लगाएको छ ।

क्यानबेरा अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएपछि उनी शुक्रबार राती परिवार भेट्न नेपाल जान खोजेका थिए । त्यहाँंको प्रचलित कानुन अनुसार लापरबाहीसँंग गाडी कुदाउनु पनि अपराध मानिन्छ र त्यसमाथि पनि दुई जनाको ज्यानै जाने गरी भएको दुर्घटनामा सागर भट्टराईमाथि छानबिन हुने देखिएको छ ।

उक्त दुर्घटनाको ‘लेक इलावारा क्र्यास इन्भेस्टिगेसन युनिट’ले छानविन गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुने गोपाल भण्डारी स्याङजा गल्याङ–६ का बासिन्दा थिए । करिब १ वर्षअघि सिड्नी आएर होमबुसमा बस्दै आएका उनी एटिआइटी कलेजमा डिप्लोमा अफ अकाउन्टिङ विषय अध्ययनरत थिए । अर्की मृतक समीक्षा सुवेदी पनि स्याङ्जा वालिङ–१० की वासिन्दा थिइन् र उनी सिड्नीस्थित क्वीन्सफोर्ड कलेजमा अध्ययनरत थिइन् । उक्त दुर्घटनामा आश्विन कँडेल, संगीत देवकोटा र चालक सागर भट्टराई र घाइते भएका थिए ।

सागर भट्टराईलाई पारामाटा स्थानीय अदालतले जमानत अस्वीकार गरेको थियो भने उनको आगामी सुनुवाई सेप्टेम्बर २७ तारिखमा क्वीनबायन स्थानीय अदालतमा हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू