अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

भूकम्पबाट पूर्ण क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न

बिआरटीनेपाल २०७६ साउन १८ गते ८:४६ मा प्रकाशित

काठमाडौँ, २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रूपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरूमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगका छन् ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरूको पुनर्निर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिनेछ । पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरू बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरूको टेन्डर आह्वान गरिएको छ ।

भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुङ्गा तथा सोलुखुम्बुका कारागारहरूको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भई बनाउन बाँकी संरचनाहरू समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताउनुभयो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अनुसार ठुला सरकारी तथा सार्वजनिक भवनहरूको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन् । सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ । सिंहदरबारको पश्चिमबाहेक तीन वटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसै गरी, बाल मन्दिर, केशर महल तथा केन्द्रीय कानुन पुस्तकालय भवनहरूको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ ।

राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरू प्रवलीकरणको डिजाइन चरणमा छन् ।नेपाल राष्ट्र बैङ्ककै लगानीमा बालुवाटार र थापाथली बन्ने भवनहरूको निर्माण कार्य जारी छ । राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरूको मर्मत सम्पन्न भइसकेको छ । सरकारी भवनहरूतर्फ हालसम्म ८ अर्व २८ करोड रुपैयाँ खर्च भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू