अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

अमेरिकामा भानुजयन्तिका अवसरमा खनाल र डा. अर्याललाई सम्मान

बिआरटीनेपाल २०७६ साउन १८ गते ८:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीले २०६ औँ भानुजयन्तिका अवसरमा वाशिङ्गटन डिसी नजिकै मनासस भर्जिनियामा एक भव्य कार्यक्रम आयोजना गरी सो कमिटीका निवर्तमान अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष, लोक गायक, साहित्यकार रामप्रसाद खनाललाई वहाँले नेपाली भाषा, कला, साहित्य, गीत सङ्गीतका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गर्‍यो । वहाँ सँगै पूर्वीय दर्शनका ज्ञाता एवम् संस्कृति बिद डा. रघुनाथ अर्याललाई पनि वहाँले आफ्नो क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै सम्मान गर्‍यो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूप नारायण घर्तिमगरको सभापतित्व, अनेसासका संस्थापक एवम् अग्रज साहित्यकार होमनाथ सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा रघुनाथ अर्यालले भानुभक्तको बारेमा प्रकाश पार्नुभएको थियो ।

सोही कार्यक्रममा लोक दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीति सँग्रह “राम प्रसाद खनालका गीतहरू” को सिडी र डिभिडी दुई कृतिको विमोचन गरिएको थियो भने कवि सुदिपभद्र खनालको दर्शन काव्य रोदनोत्सबको पनि विमोचन गरियो । 

भानु जयन्ती, वनभोज, साहित्यिक तथा सम्मान र विमोचन समारोहमा अनेसास संस्थापक होमनाथ सुबेदी, विद्वान डा. रघुनाथ अर्याल, अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष रामप्रसाद खनाल, अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय सचिव प्रकाश नेपाल, समाजका उपाध्यक्ष एवम् डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगर, सल्लाहकार कवि सुदिप भद्र खनाल लगायतका वक्ताहरूले भानु जयन्ती र विमोचित कृतिहरूका बारेमा आफ्ना मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डिसी मेट्रो कमिटीका उपाध्यक्ष पुष्कर पन्त र महासचिव मुकुन्द कोइरालाद्वारा सञ्चालित उक्त कार्यक्रममा कविहरू दुर्गा रिजाल, सुदिपभद्र खनाल, रामप्रसाद खनाल, रजनी श्रेष्ठ, कबिन्द्र सिटौला, शकुन्तला अधिकारी, परशुराम भण्डारी, परशु तिमल्सिना, रबिन्द्र भक्त श्रेष्ठ, सुनिता खत्री, अरुण रुपाखेती, भूपनारायण घर्तिमगर, रामशरण हुमागाइ, भीम रेग्मी, निलकन्ठ सुबेदी, पुरु सुबेदी, सुजना ढकाल, लोक कुमारी सुबेदी, मुकुन्द कोइराला, जगत् सुबेदी, भानु काफ्ले, लक्ष्मी दाहाल, शोभा नेपाल, विमला थापा, सङ्गीता पन्त, सुनिल मणि दाहाल, आदिले कविता वाचन गर्नुभएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू