अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

सयौँ कलाकारबिच नेफा घोषणा, काठमाडौँमा हुँदैछ भव्य अवार्ड

बिआरटीनेपाल २०७६ साउन १६ गते १४:५४ मा प्रकाशित

काठमाडौँ । नेपाली फिल्मसँग सम्बन्धित अवार्डहरू दर्जनौँ पुगेका छन् । तर समग्र नेपाली फिल्मक्षेत्रलाई प्रतिनिधित्व गर्ने र सबैको साझा अवार्डको रूपमा नेपाली फिल्म अवार्ड हुन सकेको छैन । यसलाई मध्य नजर गर्दै नेपाली फिल्म क्षेत्रको सबै भन्दा सर्वश्रेष्ठ पपुलर अवार्डको रूपमा नेफा आयोजना हुने भएको छ । आगामी दसैँ पछि हुने नेफा अवार्डलाई बलामी फिल्म ईनटरटेन्मेन्ट र यस अन्तर्गतको नेफा मिडिया ग्रुपले आयोजना गर्न लागिएको हो ।

नेफाको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहकार्य गर्ने भएका छन् । झन्डै २ करोड लागतमा आयोजना हुन लागेको अवार्ड समारोहलाई भव्य र सभ्य बनाउन लागि परेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताए । नेफा आयोजकले प्रस्तुत गरेको कार्यविधिमा अवार्ड नेपालको लागि अहिले सम्मकै प्रतीक्षित रहेको बताइएको छ ।

अवार्डले नेपाली फिल्मकर्मीको सम्मान, दर्शकप्रतिको सम्मान, सयौँ सेलेब्रेटीमा सम्मान व्यक्त गर्ने बताइएको छ । नेपाली कला, संस्कृतिलाई मौलिकतामा झल्को आउने गरी प्रस्तुत गर्दै नेपाली फिल्मको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर नेफा काठमाडौँमा भव्य रूपमा हुन गइरहेको छ । २१ जना फिल्म पत्रकारहरूको समूहले यो अवार्डको मोडल तयार पारिएको हो । दसैँ पछि आयोजना हुने यस अवार्ड नेपालकै प्रतिष्ठित र सर्वश्रेष्ठ राष्ट्रिय अवार्ड बनाउन लागि परेको बलामीले बताए ।

अवार्ड
नेपाल फिल्म अवार्ड (नेफा) नेफा मिडिया ग्रुपद्वारा जारी कार्यविधि अनुसार सञ्चालन हुने जनाएको छ । स्वदेश र विदेशमा आवश्यकता र समयानुकूल यो अवार्ड आयोजना हुनेछ । स्वदेशमा यो अवार्ड सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवाला सङ्घ संस्थाहरूको समन्वयमा विभिन्न प्रदेशहरूमा आयोजना गरिने आयोजकले कार्यविधिमा प्रस्तुत गरेका छन् । ५ विधा नेपाली फिल्मलाई माया गर्ने दर्शकहरूको भोटिङको आधारमा राखिएको छ । यस्तै १४ वटा विधा निर्णायकको अधिकारको आधारमा राखिएको छ । नेपाली फिल्मप्रति समर्पित एक स्रष्टा, सर्जक वा फिल्मकर्मीलाई आयोजकको निर्णयबाट लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । हरेक ट्रफीमा कम्तीमा ३५ तोलादेखि र बढीमा ५० तोलासम्म चाँदी समावेश भएको हुनेछ । लाइफ टाइम एचिभमेन्ट अवार्डमा भन्ने एक तोला सुन र नगद १ लाख ११ हजार १ सय एघार रुपैयाँ राखिएको छ । यस अवार्डमा एउटा उत्कृष्ट फिल्म बन्नको लागि नभई नहुने विधा र नेपाली दर्शकसँग प्रत्यक्ष परिचित हुने बिदाहरू मात्र समावेश गरिएको छ । पपुलर अवार्ड तर्फ फिल्म, एक्टर, एक्ट्रैस, सिगार मेल र सिगार फिमेल रहेका छन् । यस्तै बेष्ट अवार्ड तर्फ फिल्म, डिरेक्टर, एक्टर, एक्ट्रैस, डेब्यु डिरेक्टर, डेब्यु एक्टर, डेब्यु एक्ट्रैस, सपोर्टिङ क्यारेक्टर, एडिटर, साउन्ड डिजाइन, स्क्रिन प्ले, सिनेमाटोग्राफर, कम्पोजर र आदिवासी जनजाति फिल्म रहने बताइएको छ ।

निर्णायक
नेफाको निर्णायक समिति कार्यविधि अनुसार तय हुने आयोजकले जनाएको छ । नेपाली फिल्ममा जीवन समर्पण गरेका व्यक्तित्व, नेपाली फिल्ममा एक दशक भन्दा बढी योगदान दिएका व्यक्तित्व, नेपाली फिल्ममा प्राविधिक रूपमा दक्ष व्यक्तित्व, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाली फिल्ममा विशेष ज्ञान प्राप्त विज्ञ र विधागत रूपमा सक्षम विज्ञहरू यस अवार्डको निर्णायक बन्न सक्ने कार्यविधिमा उल्लेख छ । सबै विधामा विधागत मूल्याङकन आधार र कार्यविधि अनुसार निर्णायकहरूले मूल्याकङ गरिनेछ । मूल्याङकनमा न्यूनतम र अधिकतम मार्किङ प्रक्रिया राखिएको छ । प्रक्रिया भन्दा थपघट मार्किङ निर्णायकले दिनुपर्दा उचित कारण सहितको स्पष्टीकरण दिनुपर्ने कार्यविधिमा उल्लेख छ । पपुलर अवार्डको भोटिङ प्रक्रिया प्रत्यक्ष स्क्रिनमा प्रस्तुत गरिने बताइएको छ । यस्तै निर्णायकको रिजल्ट निर्णायकहरूबाट नै अवार्डकै दिन मात्र आउट गरिने कार्यविधिमा उल्लेख छ । कसैले त्यसको मार्किङ प्रक्रिया जाँच गर्न चाहेमा निवेदन सहित एक हप्ता भित्र पाउने जनाएको छ । पहिलो संस्करणको लागि निर्णायक समितिमा निर्माता तथा निर्देशक आकाश अधिकारी, निर्देशक तथा सञ्चारकर्मी फुलमान बल, सिनेमाटोग्राफर विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक तथा कलाकार अनुप बराल रहने भएका छन् ।

समारोह
नेफा अवार्ड समारोह काठमाडौँमा भव्य रूपमा हुने बताइएको छ । आधा करोड लागतमा सेट निर्माण गरी कार्यविधि अनुसार नै यस समारोह सञ्चालन हुने आयोजकले दाबी गरेको छ । अर्वाड वितरण, नेपाली कला, संस्कृतिलाई मौलिकतामा प्रस्तुत गर्ने, सम्मान समारोह यस समारोहको मुख्य प्रस्तुति रहने बताइएको छ । नेपाली फिल्म क्षेत्रको पूर्ण मनोरञ्जन सहितको ग्ल्यामर नाइटको रूपमा यस समारोहलाई व्याख्या गरिएको छ । चार तहमा विभाजन गरिएको समारोहको पहिलो चरण घोषणा समारोह हो भने घोषणा पछि नोमिनेशन समारोहलाई तयारी तथा आकर्षक समारोहको रूपमा प्रस्तुत गरिनेछ । त्यसपछि को ग्राण्ड समारोह नै अवार्ड समारोह हो । अवार्ड समारोहको लगतै गरिने अर्को समारोह विशेष धन्यवाद समारोह हो । नव प्रवेशी कलाकारदेखि वरिष्ठ कलाकारहरूसम्मलाई अवार्ड कार्यविधिको मापदण्डमा राखेर विभिन्न प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ । नेफा अवार्ड समारोहको लागत स्वदेशमा कम्तीमा २ करोड र विदेशमा ५ करोड रहने बताइएको छ । अवार्ड समारोहमा ८० जना भन्दा बढी स्वयमसेवक तथा सेकुरीटी र इन्टरनेट सुविधा रहने पनि आयोजकले जनाएको छ । सिसी क्यामरा जडान सहितको कार्यक्रम स्थल आउत जावतमा नोमिनिज कलाकारहरू, वरिष्ठ कलाकारहरू र पर्फमरहरुलाई यातायातको सुविधा आयोजकले उपलब्ध गराइने बताइएको छ । स्वदेशी तथा विदेशी गरी झन्डै १० हजार दर्शक यो समारोहमा सहभागी गराउने आयोजकले लक्ष्य राखेको छ ।

प्रतिक्रिया