अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

यमनमा हूती विद्रोहीहरूले गराएको विस्फोटमा परी दर्जनौंको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:०६ मा प्रकाशित

यमनको अदनमा विस्फोट हुँदा दर्जनौं मानिस मारिएका छन् भने अन्य धेरैजना घाइते भएका छन् । हूती विद्रोहीहरूले राजधानी सनामा कब्जा जमाएका छन् र उनीहरूले नै बिहीवार भएको आक्रमणको जिम्मेवारी लिएका छन् । दक्षिणी शहर अदनमा रहेको सैन्य शिविरमा परेड चलिरहेको बेलामा विस्फोट गरिएको थियो ।

रोयटर्स समाचार संस्थाले एक स्वास्थ्य र एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा ३२ जना मारिएको बताएपनि एक स्वास्थ्य अधिकारीले एसोसिएट प्रेसलाई ४० भन्दा बढी मानिस मारिएको जानकारी दिएका छन् । हूतीसँग जोडिएको अल–मासिराह टीभीले परेडमा मध्यमदूरीको क्षेप्यास्त्र र सशस्त्र ड्रोन प्रहार गरिएको जनाएको छ । यो परेड ताइज र दालीयामा कारवाही अघि बढाउनका लागि तयारीस्वरूप गरिएको हूतीका सैन्य प्रवक्तालाई उद्धृत गर्दै अल–मासिराहले लेखेको छ ।

यमनको पछिल्लो द्वन्द्व सन् २०१४ को अन्त्यतिर शुरू भएको थियो । हूतीहरूले पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहप्रति बफादार बलहरूसँग मिलेर राजधानी सनासहित देशका अधिकांश भागमा कब्जा जमाएका थिए । सन् २०१५ को मार्च महिनामा साउदी र यूएईको नेतृत्वमा रहेको गठबन्धनले विद्रोहीहरूका विरुद्ध हवाई आक्रमणको अभियान चलाएर अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको राष्ट्रपति अब्द–रब्बु मन्सूर हादीलाई पुनर्बहाली गराउन खोजेपछि युद्ध चर्किएको छ । त्यसयता दशौं हजार नागरिक र लडाकूहरू मारिएका छन् र ८५ हजार बालबालिकाहरूको भोकका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू