अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधावारे विज्ञहरुसंग छलफल गरिने

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:४० मा प्रकाशित

संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सन्तानले ज्येष्ठ नागरिक बाबुआमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरूको सुझाव लिने भएको छ । समितिको बिहीबारको बैठकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको बुँदा ८ को ‘क’ मा राखिएको ‘पारिश्रमिक वा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाका सम्बन्धमा सांसदहरूबीच समान धारणा नरहेकाले विज्ञको सुझाव लिइने भएको हो ।

समितिको बैठकमा सदस्यहरूले निश्चित प्रतिशत तोकेर बाध्यकारी व्यवस्था गर्दा सम्पत्ति लुकाउने खतरा पनि बढ्न सक्ने भएकाले यससम्बन्धमा उपयुक्त व्यवस्था गर्नका लागि विज्ञको सुझाव लिनुपर्ने धारणा राखेपछि समिति विज्ञसँग परामर्श गर्ने निर्णयमा पुगेको हो। समिति सदस्य कृष्णबहादुर राईले आयस्रोत र अन्य सम्पत्ति अनुसार वर्गीकरण गरेर रकम तोक्नुपर्ने धारणा राख्नुभयो । ज्येष्ठ नागरिकको साथै सबै वर्ग र समुदायको हित अनुकुल हुने गरी व्यवस्था गर्न विज्ञको सुझाव लिनुपर्ने उहाँको सुझाव थियो ।

सांसद हिरा गुरुङले आयस्रोत नहुनेले १० प्रतिशत रकम जम्मा गर्न नसक्ने भएकाले त्यस्ताको हकमा सम्पुर्ण दायित्व राज्यले लिने गरी व्यवस्था गरिनुपर्ने बताउनुभयो । सभापति निरुदेवी पालले निश्चित रकम तोक्दा आम्दानी लुकाउन सक्ने खतरा रहेको र त्यसले समग्र मुलुककै राजश्व संकलनमा पनि असर देखिने भएकाले यसबारे विज्ञसँग छलफल गरी निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू