अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिव १ लाख ७६ हजारले रोजगारी पाएको सरकारको दाबी

बिआरटीनेपाल २०७६ साउन १६ गते ९:३७ मा प्रकाशित

सरकारले ’प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्ष भित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो । सबै स्थानीय तहमा ६ हजारभन्दा बढी आयोजना संचालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्ष भित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

बजेट कम भए पनि नेपालको इतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको मन्त्री विष्टको भनाई थियो । सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु संचालन गरि सरकारले सो कार्यक्रममार्फत गरिव समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टले बताउनुभयो ।

कार्यक्रममा मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराउनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको मन्त्री विष्टको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू