अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

विराटनगरको नोबेल शिक्षण अस्पतालमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा नाराबाजी

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:४२ मा प्रकाशित

विराटनगरमा सामान्य प्रसूतिबाट बच्चा जन्माएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसुतिबाट बच्चा जन्माएकी सुनसरीको रामधुनी निवासी पार्वती कार्कीको मृत्यु भएको आफन्तले जनाएका छन्।

सामान्य प्रसुतिका क्रममा दोश्रो सन्तान भएसँगै उपचारका क्रममा लापारवाही भएको आरोपमा आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। ३५ वर्षीया कार्कीको मृत्यु भएसँगै अस्पतालमा आफन्तले नाराबाजी गर्दै उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग गरेका छन्।

पार्वतीलाई प्रसूतिका लागि सोमबार नोवेलमा भर्ना गरिएको थियो। मंगलबार बिहान उनले दोस्रो सन्तानका रुपमा छोरी जन्माएकी थिइन्। तर, अत्याधिक रक्तश्राव भएको भन्दै चिकित्सकले उनलाई दिउँसो करिब २ बजे पाठेघरको शल्यक्रिया गर्नुपर्ने बताउँदै अप्रेशन थिएटरमा लगेको आफन्तले बताउका छन् । शल्यक्रियामा १७ पिन्ट रगत चढाए पनि बचाउन नसकिएको भन्दै अस्पतालले बुधबार बिहान पार्वतीलाई मृत घोषणा गरेको थियो।

अस्पतालका चिकित्सकले समयमै ध्यान दिएर विरामीको उपचार सुरु गरेको भए सुत्केरीको मृत्यु नहुने आफन्तको गुनासो छ। अधिकारीका अनुसार बच्चा जन्माएको केही समयपछि पार्वतीले खानासमेत खान खोजेकी थिइन्। खाना खुवाउन खोज्दा उनी बेहोस भएर ढलेको बताईएको छ । बेहोस भएपछि मात्रै रगत धेरै बगेको भन्दै पाठेघर फ्याल्नु पर्ने भनेर चिकित्सकले लगेको आफन्तले बताएका छन् ।

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। मृतकका श्रीमान् दीपक कार्की वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। यसैवीच, अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरबाही नगरेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू