अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, कम्तीमा ३४ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:२६ मा प्रकाशित

अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा बसमा सवार कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सुरुमा २८ जनाको मृत्यु भएको बताईएपनि दुर्घटनामा परी ३४ जनाको मृत्यु भएकोस्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ । उक्त बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गर्ने प्रयोजन अनुरुप राखेको हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि, संयुक्त राष्ट्रसंघले मंगलबारमात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तालिबान लडाकू समूह सुरक्षा बललाई लक्षित गरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ आक्रमण गर्दै आएका छन् । तर, तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहतियारले पनि सर्वसाधारण जनतालाई हानि पुर्याउँदै आएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको सुरुको ६ महिनामा १ हजार ३ सय ६६ सर्वसाधारणको मृत्यु भएको छ भने २ हजार ४ सय ४६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू