अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

युवा नेता योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, पद तथा गोपनियताको सपथ ग्रहण

बिआरटीनेपाल २०७६ साउन १५ गते ७:२२ मा प्रकाशित

नेकपाका युवा नेता योगेश भट्टराई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनुभएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको साल २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आउनुभएको थियो । पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । वि. सं २०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिनुभएका भट्टराई ताप्लेजुङबाट नेकपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

यसअघि, चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिनुभएको थियो । तर यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा भट्टराई ओलीको रोजाइमा पर्नुभएको थिएन । सरकारका विवादास्पद निर्णयहरुको आलोचना गर्दै आएका भट्टराईले पछिल्लो समयमा भने सरकारबारे सन्तुलित टिप्पणी गर्दै आउनुभएको थियो । २०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गर्नुभएका भट्टराई २०५१ मा अनेरास्ववियुको सभापति हुनुभएको थियो ।

२०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई हुनुहुन्थ्यो भने महासचिव रवीन्द्र अधिकारी हुनुहुन्थ्यो । वि. सं २०६५ सालमा तत्कालीन नेकपा एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि पार्टीभित्र भट्टराईको लोकप्रियता बढेको थियो । पार्टी पंक्तिमा भट्टराई विशेषगरी युवाहरुको रोजाइमा पर्नुहुन्छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू