अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

फ्रान्समा डाइनोसरको तिघ्राको हड्डी फेला पर्यो

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:४९ मा प्रकाशित

वैज्ञानिकहरूले दक्षिण पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेको बताएका छन् ।तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ ।लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गरेको बताइन्छ ।जुरासिक युगको अन्त्यतिर एकदमै पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर रहेको विश्वास मानिन्छ ।

फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको जीवाश्मबारेका जानकार वैज्ञानिकहरूको भनाई छ । न्याश्नल हिस्ट्री म्युजियम अफ प्यारिसका रोनान एलेनले फेला परेको हड्डीमा हामी मांसपेशी, स्नायु र दाग देख्न सक्ने उल्लेख गरेको बिबिसिले स्थानीय पत्रिकाको समाचार उदृत गर्दै लेखेको छ । स्थानीय एलेनले समाचार संस्था एएफपीलाई बताए अनुसार सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थिए र तिनीहरू ४० देखि ५० टनसम्मको तौलका थिए ।

अर्को एउटा फ्रान्सेली पत्रिका अनुसार सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्राम थियो । यसै हप्ता फेला पारिएको पछिल्लो हड्डी बाहिर निकाल्न पूरै एक हप्ता लाग्न सक्ने र त्यसका लागि क्रेन चाहिने बताइएको छ । कोन्याक नगर नजिकै पर्ने शाराँट क्षेत्रस्थित अङ्गुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकले यो ग्रीष्मकालमा काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू