अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

बाघ दिवस: दोब्बर सङ्ख्या पुर्याउने लक्ष्य सफल हुँदै

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:४५ मा प्रकाशित

वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम सोमबार बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसबाहेक विभागले फिल्डस्तरको कार्यक्रम बाघ पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि स्थानीयस्तरको कार्यक्रम गरेको छ । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो ।जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । पछिल्लो उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पगेको छ ।

जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू