अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयमा आक्रमण, २० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:३४ मा प्रकाशित

अफगानिस्तानमा राष्ट्रपतिका सहयोगी अमरूल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार भएको आतंककारी हमलामा परी ज्यान जानेको संख्या २० पुगेको छ । सो कार्यालयलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि कार्यालयमा प्रवेश गरी आक्रमण भएको अधिकारीहरुले जनाएका थिए ।

आइतबार अफगान प्रहरीले दिएको सूचनाअनुसार आक्रमणमा दर्जनौं घाइते भएका थिए । आइतबार रातिसम्म पनि आक्रमण जारी रहेको बताइएको थियो । स्थानीय समयानुसार आइतबार दिउँसो करिब ४ः४० बजे सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालयनजिकै पारेर विस्फोट गराइएको अफगान प्रहरीले जनाएको छ ।

‘विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए’–अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भनेका छन् । सोमबार बिहान प्राप्त समाचारमा २० जनाको ज्यान गएको पुष्टि गरिएको छ । मारिनेमा चारजना प्रहरी र १६ जना गैरसैनिक नागरिक रहेका छन् ।

राति भएको सो आक्रमणमा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको र उनीहरुमध्ये कतिपयको प्रहरी कारबाहीमा परी ज्यान गएको थियो । उक्त आक्रमणबाट ४३ जना सर्वसाधारण नागरिक घाइते भएका छन् । आक्रमणकारीहरु मध्येबाट चारजनाको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ ।

सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुनुहुन्छ भने उहाँले राजनीतिमा प्रवेश गर्नुपहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखकारूपमा सेवा गरेका बताइएको छ । अफगानिस्तानमा आइतबारबाट राष्ट्रपतीय निर्वाचनको अभियान सुरु भएको छ । सालेहले पनि सो निर्वाचनमा आफुलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू