अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

राप्रपाले गाउँ फर्क अभियान संचालन गर्ने

बिआरटीनेपाल २०७६ साउन १३ गते ९:२६ मा प्रकाशित

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाउँ फर्क’ अभियान संचालन गर्ने भएको छ । पार्टीको सोमबार काठमाडौँमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने ‘गाउँ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको हो । पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने गाउँ फर्क अभियान संचालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौँमा केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । सो कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ । आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ ।

बैठकमा अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुटन पार्टीका नेताहरुलाई निर्देशन दिनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रीय कार्य समितिले तय गरेको थियो । सोही कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रिय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’ सहितको अभियान देशभर संचालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू