अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

सचेतना मार्फत महिला रक्त दाता बढाउन आवश्यक: उपप्रमुख खड्गी

बिआरटीनेपाल २०७६ साउन १२ गते ११:१६ मा प्रकाशित

आ.व. २०७५/०७६ मा नेपालभर तीन लाख ४५ हजार एक सय एकाउन्न यूनिट रगत वितरण गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यो करिब ३.६% ले वृद्धि हो । यसमा पुरुष रक्त दाता ८३.९ प्रतिशत र महिला रक्त दाता १६.१ प्रतिशत रहेका छन् । केन्द्रीय रक्त सञ्चार सेवा, काठमाडौँबाट ५५,९५३ यूनिट रक्त सङ्कलन गरिएको छ जसमध्ये ४६,४०५ युनिट पुरुष रक्तदाताबाट र ९,५४८ यूनिट महिला रगतदाताबाट सङ्कलन भएको छ । यसमा महिला रक्तदाताहरुको हिस्सा १७.०७ प्रतिशत छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाको ५३ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो । 

कार्यक्रमको समुद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका उपप्रमुख खड्गी (श्रेष्ठ) ले आफू दुर्लभ रक्तसमूह (बी नेगेटिभ) मा पर्ने भएकोले विभिन्न अस्पतालहरुमा रक्तदाताको रूपमा आफ्नो नाम दर्ता गराएको बताउनुभयो । उहाँले भन्नुभयो: “६ महिनाको बालक दुर्घटनामा परेको र बी नेगेटिभ रगत चाहिएको बेला मैले गरेको रक्तदानको कारण उसको ज्यान बचेको कुरा म सधैँ सम्झन्छु ।” आफूले २०४२ सालमा रगत दान सुरु गरेको स्मरण गर्दै खड्गीले महिलाहरूलाई नियमित रक्तदान गर मात्र भनेर नपुग्ने भएकोले चेतनाको स्तर बढाउनु पनि आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्न धाख्वाले सबै रक्तदाताहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा रक्त सञ्चार व्यवस्थापन समितिको तर्फबाट स्वागत गर्दै चितवनको माडी, कैलालीको टिकापुरमा स्थानीय निकायहरूले रक्त दाता उत्प्रेरणा र बिरामीहरूले तिर्नुपर्ने रगतको शुल्कमा सहयोग गरिरहेको जानकारी गराउँदै यस्तो सत् प्रयास देशका सबै स्थानीय तहले गरिदिए घाइते वा बिरामीलाई ठुलो राहत हुने बताउनुभयो । 

काठमाडौँ प्रदेश ३ का सभासद् नरोत्तम वैद्य, नेपाल सरकार, राष्टिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा, व्लोदानका अध्यक्ष सानुबाबु प्रजापति, काठमाडौँ जिल्ला रेडक्रसका सभापति मथुराराम श्रेष्ठ, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल लगायत नियमित रक्तदान गर्ने सङ्घसंस्थाका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिवेदन पेस गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक मनिताराज कर्णिकारले रक्त दाता उत्प्रेरणा तथा अन्तर्कृया, रक्तदान शिविरका साथै अस्पतालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबिच रगतको उचित प्रयोग सम्बन्धी कार्यक्रमहरू बढाउन प्रयास भइरहेको तर त्यसको लागि बजेटको पर्याप्तता नभएकोले सवैपक्षलाई सहयोगको आव्हान गर्नुभयो । उहाँले नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय रक्तसञ्चार व्यूरो तथा अन्तर्राष्ट्रिय निकायसँग समेत सहकार्य गर्दै रगत आपूर्तिको गुणस्तर व्यवस्थापनमा जोड दिइँदै आइएको जानकारी दिनुभयो । 

गएको आर्थिक वर्षमा दैनिक रक्तदान कार्यक्रम आयोजना गर्ने असन सेवा समिति र लायन्स क्लब अफ लाली गुराँस लगायत साप्ताहिक कार्यक्रम गर्ने पशुपति मारवाडी सेवा सङ्घ, गण्ोशमान सिंह अध्ययन प्रतिष्ठान, देव कर्नर सेवा, लायन्स क्लब अफ चाबहिल लाम पोखरी र चाबहिल सिटी, रेडक्रसको बौद्ध उपशाखालाई सम्मान गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । यसका साथै उत्कृष्ट योगदान गर्ने विभिन्न ६७ सङ्घसंस्थाहरू तथा स्वयंसेवकहरूलाई सम्मान गरिएकोमा यस वर्ष केन्द्रीय सेवा केन्द्र तर्फ सबैभन्दा बढी युनिट रक्तदान गर्ने महिला समूहमा जागरण महिला समूह र एकै पटक सबैभन्दा बढी युनिट रक्तदान गर्ने ट्रिनिटि कलेज, डिल्ली बजार रहेको पौडेलले बताउनुभयो । 

हाल नेपालको ७३ जिल्लाका निम्न १०८ स्थानमा रक्त सञ्चार केन्द्र तथा एकाइहरू रहेका छन् । आ.व. २०७५/०७६ मा नेपालभरिमा विभिन्न सङ्घ–संस्थाहरूबाट ४,०२१ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रम भई रगत सङ्कलन गरिएको छ र सो मध्ये केन्द्रीय रक्त सञ्चार सेवाद्वारा मात्रै १,३२९ पटक विभिन्न सङ्घ–संस्थाहरूबाट घुम्ती रगत सङ्कलन भएको हो । केन्द्रीय सेवामार्फत जम्मा ५५,९५३ युनिट रक्त वितरण भएकोमा भएकोमा स्वयंसेवी रक्तदाताबाट सङ्कलित ४६,५०० र शोधभर्ना तर्फ ९,४५३ युनिट रहेको थियो । नेपाल भरी सङ्कलित र वितरित रगतको समूहको तथ्याङ्क हेर्दा ए, बी, ए बी र ओ पोजेटिभको सङ्ख्या ९६ दशमलव ९ प्रतिशत रहेको छ भने नेगेटिभ समूहको सङ्ख्या ३.१० प्रतिशत देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू