अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

साउने झरी र म

कञ्चन सिवाकोटी २०७६ साउन १० गते २१:४३ मा प्रकाशित

आकाश रुझाएर आँखामा सँधैं
बर्साउन सक्दिन अल्लारे प्रेमगितको वर्षा
तिम्रा निर्मम सपनाहरूका पोखरीमा
डुबुल्की मार्न मान्दैन यो मन ।

म साउने झरी भएकी छु यति बेला
खेतका गराहरूमा भरिएर टन्नै
उब्जाउनु छ प्रेमिल धानका बालाहरू
र जोगाड गर्नु छ जिन्दगीका लागि ।

सपनाका आँखामा सँधैं फुल्छ लालीगुराँस
भावनाको हृदयमा सँधैं फुल्छ लालुपाते
कल्पनाको सागरमा सँधैं फुल्छ गोदावरी
तर, बिपनामा यथार्थमा रित्तो रित्तो शुन्यता
प्रतिपल पछ्याइरहन्छ मलाई ।

एउटा सपना ओढेर, अर्को सपना बिछ्याएर
आकाश धर्तीको बिचमा आफूलाई
उभ्याइरहेछु यति बेला
दोधार दोधार लाग्छ जिन्दगी
सपना जस्तो बिपना जस्तो ।

प्रतिक्रिया