अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

‘क्लिन फिड’ एक वर्षपछि लागू हुने प्रावधान पारित

बिआरटीनेपाल २०७६ साउन १० गते ९:४० मा प्रकाशित

संसदको विकास तथा प्रविधि समितिले ‘क्लिन फिड’ एक बर्षभित्र लागू गर्ने गरी सो सम्बन्धी दफा पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ लाई सर्वसहमतिले पारित गरेको हो । क्लिन फिड भनेको विदेशी विज्ञापनलाई स्वदेशी करण गरेर प्रशारण गर्नु हो ।

समितिकी सभापति कल्याणी खड्काले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक बर्षभित्र र नयाँ सेवा प्रदायकहरुले भने ऐन लागु भएकै दिनदेखि क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था अनुमोदन गरेको जानकारी दिनुभयो ।

सरकारले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि लागू हुने प्रस्ताव गरे पनि विकास समितिले त्यसलाई परिमार्जन गर्दै पुराना सेवा प्रदायकले एक वर्ष र नयाँले तत्काललै कार्यान्वयन गर्नुपर्ने प्रावधान अनुमोदन गरेको हो । राष्ट्रियसभाले क्लिन फिड सम्बन्धी दफालाई जस्ताको त्यस्तै पारित गरेको थियो । पुराना सेवा प्रदायकले क्लिन फिडका लागी पूर्वाधार बनाउनुपर्ने देखिएकाले एक वर्ष समय राखिएको सभापति खड्काले बताउनुभयो ।

विधेयकलाई समितिले अनुमोदन गरेर प्रतिनिधिसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ । क्लिन फिडसम्बन्धि व्यवस्थालाई लागू नगर्न केवल टेलिभिजन सेवा प्रदायकहरुले विरोध गरे पनि सञ्चार क्षेत्रसँग सम्बन्धित अरु पक्षले लागू गर्नुपर्नेमा जोड दिएका थिए । क्लिन फिड लागू नगर्ने केवल टेलिभिजन सेवा प्रदायक, टेलिभिजन वा व्यक्तिलाई पाँच लाखसम्म जरिवान हुने व्यवस्था विधेयकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू