अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

निर्मला हत्या प्रकरण – न्यायको आशमा एक वर्ष बित्यो, तर उपलब्धि शून्य

बिआरटीनेपाल २०७६ साउन १० गते ९:२८ मा प्रकाशित

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको शुक्रबार एक वर्ष पूरा भएको छ । तर यो एक वर्षको अबधिमा नत कुनै अनुसनधान उपलब्धिमूलक बनेको छ, न हत्यारा पत्ता लागेको छ । सरकारले घटनाका दोषी पत्ता लगाउने नाममा यो बीचमा सातवटा अनुसन्धान टोली गठन गरेपनि ती सबै अनुसन्धान टोली हत्यारासम्म पुग्न सफल भएका छैनन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा मानसिक सन्तुलन ठीक नभएका दिलीप सिंह विष्टलाई सार्वजनिक गरेपछि निर्मलाको न्यायका लागि थालिएको आन्दोलनले उग्ररूप लियो । आन्दोलन चर्किँदै गएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं कञ्चनपुर पुगेर अनुसन्धानबारे जानकारी लिनुभएको थियो । काठमाडौं फर्केपछि प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यात नेतृत्वको आन्तरिक छानविनका लागि समिति गठन गरियो ।

समितिको सिफारिसका आधारमा अनुसन्धानमा लापरबाही गरेको आरोपमा प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठजना प्रहरी निलम्बनमा परे । प्रहरी उपरीक्षक विष्टसहितका प्रहरीलाई गृह मन्त्रालयको आदेशमा बरखास्त समेत गरियो ।

घटनाको अनुसन्धानको लागि प्रहरीलेसयौँ व्यक्तिसँग सोधपुछ गर्यो भने ७० जनाको त डिएनए परीक्षण नै भयो । तर, कसैको पनि रगतको नमुनाले डिएनए परीक्षणमा मेल खाएको देखिएन । २०७५ साल साउन १० गते घरबाट गृहकार्य गर्न साथी रोशनी बमको घर गएपछि हराएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। शव फेला परेपछि रोशनी र उनकी दिदी बवितालाई नियन्त्रणमा लिई प्रहरीले लामो सयमसम्म अनुसन्धान गरे पनि कुनै पनि तथ्य फेला पार्न सकेन । निर्मलाको न्यायका लागि भएका हालसम्मका कुनैपनि प्रयासले सार्थकता पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू