अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

पूर्व अर्थमन्त्रीहरुको निष्कर्ष – दिगो विकासका लागि सरकारको तयारी पुगेन

बिआरटीनेपाल २०७६ साउन १० गते ९:२५ मा प्रकाशित

पूर्व अर्थमन्त्रीहरुले सरकारले दिगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन् । पूर्वअर्थमन्त्री एवम् समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकाल्नुभएको हो ।

शुक्रबार काठमाडौंमा ‘नेपाल इकोनोमिक आउटलुक’ सार्वजनिक कार्यक्रममा डा. भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको बताउनुभयो । आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको उहाको ठहर थियो ।

अर्का पूर्व अर्थमन्त्री डा. महतले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको दिगोे आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पूर्व अर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास हुन नसकेको दावी गर्नुभयो । राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दिगोे विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न सकिने उहाको भनाई थियो । दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न पाण्डेले सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू