अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५८ मा प्रकाशित

गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। मंगलबार राति परेको अबिरल बर्षाका कारण पहिरोमा परेर सत्यवति गाउँपालिका ४ को लिम्घामा बेपत्ता भएका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीय तारा बिक वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया बिक र बवि विकको शव फेला परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

यो सँगै २ स्थानमा ३ वटा घरमा पहिरोले क्षति पुर्याउँदा १३ जनाको मृत्यु भएको हो। बेपत्ता मध्ये ३ जनाको बुधवार साँझ र १ जनाको बिहीबार बिहान सव फेला परेको प्रहरीले जनाएको छ । लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक,अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिंजालीको शव फेला परेको थियो। उनीहरूको शवलाई जिल्लाबाट डाक्टरको टोली पठाई पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबीन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।

पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिष्मा र धनी त्ररामुलाई दुई दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहितको टोलीले हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडौं लगिएको छ । उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि दुई स्थानका करिव ६०० घरपरिवार सुरक्षित स्थानमा सारिएको छ।सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य वस्ती पनि पहिरोको खतरामा रहेकाले करिव ४०० जनालाई घरडाँडा,अस्लेवा रामबारी, धर्मपुर मावि, ढुंगा चाल्ने, भानु प्रावि र धर्मपुर प्राविमा व्यवस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै वडा ४ लिम्घामा पनि २०० घर परिवारलाई सरस्वती माविमा व्यवस्थापन गरिएको छ। प्रभावित क्षेत्रमा जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र पाल्पाबाट थप नेपाली सेनाका सुरक्षा निकाय खटाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू