अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

उत्तर कोरिया अचानक बन्यो आक्रामक, दुई क्षेप्यास्त्र परीक्षण

बिआरटीनेपाल २०७६ साउन ९ गते ९:५३ मा प्रकाशित

क्षेत्रीय स्तरमा सैन्य तनाव बढिरहेको समयमा उत्तर कोरिया अचानक आक्रामक रुपमा देखा परेको छ । उत्तर कोरियाले बिहीबार बिहानै दुई साना दुरीका क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण भएको पुष्टि गरेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाले तटीय क्षेत्रबाट समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाद्वारा परीक्षण गरिएका ती क्षेप्यास्त्र करिब ३०० माइलको दुरीमा मार हान्न सक्ने क्षमताको रहेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । अमेरिकी अधिकारीले पनि उत्तर कोरियाद्वारा भएको क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेका छन् । तर, दक्षिण कोरिया र अमेरिकाले ती क्षेप्यास्त्रको बारेमा विस्तृत विवरण पाउन नसकेको बताएका छन् ।

अमेरिकासँग वार्ता भएपछि उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई चरणमा भएको वार्ता अपेक्षाअनुसार सफल भने हुन सकेको थिएन ।समाचार एजेन्सीका अनुसार उत्तर कोरियाली नेता किम हालै एउटा पनडुब्बी निरीक्षण गरिरहेको तस्वीर प्रकाशमा आएको छ । आधुनिक प्रविधिअनुसार निर्माण भइरहेको उक्त पनडुब्बीलाई उत्तर कोरियाले आणविक हतियारसहित समुद्रमा उतार्ने तयारी गरिरहेको अनुमान गरिँदैछ ।

रुस र चीनले दक्षिण कोरिया नजिकैको समुद्री क्षेत्रमा हवाई सैन्य अभ्यास गरिरहेको समयमा दक्षिण कोरिया आक्रामक देखिएको छ । यही समयमा उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिएको घटना सार्वजनिक भएको हो । अमेरिका र दक्षिण कोरिया पनि संयुक्त सैन्य अभ्यासको तयारीमा छन् । उत्तर कोरियाले रुस र चीनको संयुक्त सैन्य अभ्यासबारे प्रतिक्रिया जनाएको छैन । तर अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासप्रति भने उत्तर कोरियाले आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू