अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

बोरिस जोनसन ब्रिटेनको नयाँ प्रधानमन्त्री, पदभार ग्रहण

बिआरटीनेपाल २०७६ साउन ८ गते १०:०५ मा प्रकाशित

ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिनुभएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको छ । बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गर्नुभयो । त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उहाले बताउनुभयो ।

साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गर्नुभएको छ । आगामी ३१ अक्टोबर भित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री जोनसनले ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्नुभयो । बुधबार दिउँसो सत्ता सम्हालेपछि कन्जरभेटिभ पार्टीका नयाँ नेता तथा प्रधानमन्त्री जोनसनले बरिष्ठ मन्त्रीहरूको नाम घोषणा गर्ने अनुमान छ, तिनमा चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्री र गृहमन्त्री पनि पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू