अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:५८ मा प्रकाशित

चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । बुधवार बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रताविरुद्ध चेतावनी दिइएको छ ।

सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको यस स्वेतपत्रमा विश्वकै सर्वाधिक ठूलो सेना र बेइजिङको सैन्य महत्वाकांक्षाका बारेमा भने केही उल्लेख छैन ।

अन्तर्राष्ट्रिय रणनीतिक प्रतिस्पर्धा बढ्दो रहेको जनाउदै दस्तावेजमा संयुक्तराज्य अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनीतिलाई समायोजन गरेको तथा ‘एकपक्षीय नीतिहरु’ अनुशरण गरेको उल्लेख छ । संयुक्तराज्य अमेरिकाले ‘प्रमुख राष्ट्रहरुमाझ प्रतिस्पर्धालाई जबर्जस्ती बढाएको, आफ्नो प्रतिरक्षा खर्चमा वृद्धि गरेको, आणविक, बाह्य अन्तरिक्ष, साइबर र क्षेप्यास्त्र प्रतिरक्षामा थप क्षमता निर्माण गर्नेतर्फ अग्रसर भएको तथा विश्वको रणनीतिक स्थायित्वलाई बेवास्ता गरेको’ आरोप चीनको छ ।

योजनामा चीनको जनमुक्ति सेनाका शस्त्रलाई उच्च प्रविधियुक्त बनाइने उल्लेख छ । तथापि, उक्त योजनामा चीनको सैनिक क्षमता अरु कतिपय मुलुकका सेनासरह नरहेको स्वीकार गरिएको छ । उक्त राष्ट्रिय सुरक्षा योजनामा परिवर्तित विश्वमा युद्धको शैलीमा नै परिवर्तन आएको र बौद्धिक युद्धकलामा प्रवेश गरेको उल्लेख छ ।

‘आर्टिफिसियल इन्टिलिजेन्स’, ‘बिग डेटा’, ‘क्लाउड कम्प्युटिङ’ र नवीन तथा उच्च प्रविधियुक्त सैनिक प्रविधि आजको आवश्यकता भइसकेको उक्त योजनामा उल्लेख छ । चीन प्रतिरक्षा खर्च गर्ने मुलुकमा विश्वमै दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा रहेको छ । चीनले सन् २०१९ मा आफ्नो सैनिक खर्चलाई ७.५ प्रतिशतले वृद्धि गर्ने घोषणा यसअघि नै गरिसकेको छ । प्रस्तावित योजनामा चीनले आफ्नो सेना विश्व शान्तिका लागिमात्र प्रयोग हुने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू