अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

आधिकारिक ट्रेड युनियन खारेज हुँदैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ साउन ८ गते ९:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पार्नुभएको छ । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको प्रधानमन्त्रीको टिप्पणी थियो । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले ट्रेड युनियन खारेज नगरिने भएकोले कुनैपनि भ्रममा नपर्न सम्बन्धित सवैलाई आग्रह गर्नुभयो ।

कर्मचारीको सहयोग विना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कमी कमजोरी रहेका भएपनि कर्मचारीले सहयोग गरेकै छैनन् भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने भन्दै प्रधानमन्त्रीले आन्दोलनको कुरा नगर्न पनि उनीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेको भन्दै समाधान गरिदिन सरकारलाई आग्रह गर्नुभयो । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको तहगत प्रणालीअनुसार सेवा सुविधाका लागि बजेटको व्यवस्था गर्न पनि ट्रेड युनियन आवद्ध कर्मचारीहरुले माग गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत कोषमा २ संस्थाले २५ लाख रुपैंयाँ हस्तान्तरण गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंयाँ हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू