अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 15:50

४१ औँ पुष्पलाल स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईयो

बिआरटीनेपाल २०७६ साउन ७ गते १०:१४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लड्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन बिस्तारमा लाग्नुभएको थियो । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन समेत गर्नुभएको थियो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरंकुशताको अन्त्यका लागि “संयुक्त जनआन्दोलनको कार्यदिशा” २०२५ सालमा अगाडि सार्ने श्रेष्ठ पहिलो नेता हुनुहुन्छ । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हाँसिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागु गर्नेसमेत समावेश थियो ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेख्नुभएको थियो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो ।

निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै नभई इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान राख्ने ब्यक्तित्व हुनुहुन्थ्यो । बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको बताइन्छ । उहाँ २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लाग्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू