अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

चिनियाँलाई विश्व पर्यटनको आधिकारिक भाषा बनाउन नेपालको समर्थन

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:३९ मा प्रकाशित

नेपालले चिनियाँ भाषालाई विश्व पर्यटन संगठनको आधिकारिक भाषामा समावेश गर्ने समर्थन प्रस्तावलाई संघीय संसदमा दर्ता गरेको छ । गत जेठ २ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ’विश्व पर्यटन संगठनको विधानको धारा ३८ संशोधन सम्बन्धी प्रस्तावलाई नेपालले समर्थन गर्ने सम्बन्धमा संघीय संसद समक्ष पेस गर्न परराष्ट्र मन्त्रालयले तयार गरेको अवधारणा’ प्रतिनिधिसभामा दर्ता गराउनुभएको हो ।

गत बुधबार दर्ता गरिएको उक्त अवधारणापत्रमा चिनियाँ भाषालाई विश्व पर्यटन संगठनको आधिकारिक भाषा बनाउनुको उद्देश्य, औचित्य, राष्ट्रिय हितलगायतका विषय समावेश गरिएको छ। चिनियाँ भाषालाई विश्व पर्यटन संगठनको आधिकारिक भाषा बनाउने संशोधन प्रस्तावमा हालसम्म विश्वका ७२ मुलुकले समर्थन जनाएका छन्। संयुक्त राष्ट्रसंघको विशिष्ठीकृत संस्था विश्व पर्यटन संगठनको स्थापनाका बेला नै नेपाल सदस्य बनेको थियो। उक्त संगठन सन् १९७५ मा स्थापना भएको हो। हाल यो संगठनका आधिकारिक भाषामा अरबी, अंग्रेजी, फ्रान्सेली, रुसी र स्पेनी रहेका छन्।

चिनियाँ भाषा संयुक्त राष्ट्रसंघको आधिकारिक भाषा हो। तर विश्व पर्यटन संगठनको आधिकारिक भाषा नभएको हुँदा यसलाई पनि समावेश गर्नुपर्ने नेपालको तर्क छ । सन् २००७ मा विश्व पर्यटन संगठनको १७ औँ महासभामा यसको विधानको धारा ३८ मा संशोधनको प्रस्ताव आएको थियो । संशोधनमा अरबी, अंग्रेजी, फ्रान्सेली, रुसी र स्पेनीका अलावा चिनियाँ भाषालाई पनि संगठनको आधिकारिक भाषाका रूपमा समावेश गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावमा १५८ पक्ष राष्ट्रहरूमध्ये ७२ ले मात्रै संशोधनको समर्थन गरेकाले आधिकारीकता पाएको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू