अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री खानको रेल यात्रा , पाँचतारे होटलको साटो राजदूतको निवासमा बस्ने

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:४८ मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री इमरान खान तीन दिने औपचारिक भ्रमणको लागि अमेरिका जानुभएको छ । प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक अमेरिकाको औपचारिक भ्रमणमा जानुभएको हो । अमेरिका पुगेपछि खान विमानस्थलबाट रेल चढेर बाहिरिनुभएको थियो । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ जानुभएको हो ।

स्रोतका अनुसार खान अमेरिका बसाइका क्रममा पाकिस्तानी राजदूतको निवासमा बस्नुहुने छ । पाँच तारे होटलको साटो उहाँले अमेरिकी राजदूतको निवासमा बस्ने योजना बनाउनुभएको हो । पाकिस्तानले अहिले आर्थिक संकटको सामना गरिरहेको छ । देश आर्थिक संकटमा रहेको समयमा फजुल खर्च जोगाउनका लागि प्रधानमन्त्री खानले आफैंबाट पहल थालेको बताईएको छ ।

स्मरणीय छ, इमरान खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै सरकारी निवासमा नबस्ने घोषणा गर्नुभएको थियो । उहाँले सामान्य घरलाई नै आफ्नो निवासका रुपमा प्रयोग गर्दै आउनुभएको छ । अमेरिका भ्रमणका क्रममा खानले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग नगरेको बताईएको छ । उहाँ सामान्य यात्रु झै कतार एयरवेजको नियमित उडानबाट अमेरिका पुग्नुभएको थियो ।

इमरान खानले अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले केही अमेरिकी मन्त्री, सांसदहरुसँग समेत भेटवार्ता गर्ने पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू