अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

बाढीले विजयपुर खोलामा रहेको डाइभर्सनमा क्षति

बिआरटीनेपाल २०७६ साउन ५ गते ७:३९ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा क्षति पुगेको छ । डाइभर्सनमा क्षति पुग्दा मालावाहक सवारी आवागमन बन्द भएको छ । आइतबार रातीको बाढीले गर्दा डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् । पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु हुन सक्ने बताइएको छ । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो ।

अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा भने क्षति पुगेको छ । विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन । खोलामा बाढीमात्रै आएको र डाइभर्सनमा सामान्य क्षति पुगेकाले मर्मत भएपछि सोही ठाउँबाट लोडेड गाडीहरु आवतजावत गर्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू