अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

बाढी प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण गर्दै डा. गोविन्द केसी

बिआरटीनेपाल २०७६ साउन ३ गते २३:४८ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले बाढी प्रभावित बस्तीमा पुगेर प्रभावितहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको छ । भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा डा.केसीले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

बन्जरहा गाउँको चारैतिरबाट बाढीको पानी पसेर गाउँको निकास नै बन्द भएको विभिन्न सञ्चार माध्यममा समाचार सुनेर राजधानीबाट प्रभावित बस्तिमा पुगेको डाक्टर केसिले बताउनुभयो । विनाशकारी बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै गएको देखिएपछि शुक्रवार बिहानै रौतहट सदरमुकाम गौरबाट औषधि, कपडालगायतका राहत सामग्री लिएर बस्तीमा पुगेको डा. केसीले बताउनुभयो । बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा शिविर खडा गरी त्यहाँ आउने विरामीहरुको उहाँले स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि वितरण गरिएको छ। स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका बाढीबाट प्रभावित भएर विरामी भएकाहरु स्वस्फूर्त रुपमा आएर डा. केसीसँग स्वास्थ्य परीक्षण गराएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू