अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

अख्तियारमा ‘दुःख दिने’ उजुरी बढी, २ प्रतिशतमा मात्र ‘प्रमाण’पुग्ने अख्तियारद्धारा जानकारी

बिआरटीनेपाल २०७६ साउन ३ गते १०:०२ मा प्रकाशित

सरकारी कर्मचारीबाट हुने कुनै पनि किसिमको भष्ट्राचारको अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७५/७६ मा २४ हजार ४४ उजुरी परेका छन् । यीमध्ये अख्तियारले १५ हजार ६ सय ११ वटा उजुरीको मात्र फर्छ्योट गरेको जनाएको छ । फर्छ्योट भएकामध्ये तीन सय ५१ उजुरीमात्र मुद्दासम्म पुगे। प्रतिशतको हिसाबले यो केवल २.२४ हुन आउँछ । अख्तियारका अनुसार गत आर्थिक वर्षमा परेका उजुरीमध्ये करिब ९ हजारको फर्छ्योट हुन बाँकी छ । यीमध्ये ९ सय २१ वटा उजुरी विस्तृत अनुसन्धानका क्रममा छन् ।

उजुरी जसले पनि गर्न सक्ने भएपनि ती उपुयुक्त हुन् कि हैनन् भन्ने कुरा अख्तियारले सामान्य छानबिनबाट निक्र्यौल गर्ने अख्तियारले जनाएको छ । सामान्य छानबिनमा गम्भीर देखिए त्यस्ता उजुरीको विस्तृत अनुसन्धान हुने र पर्याप्त प्रमाणपछि विषेश अदालतमा मुद्दा दायर गरिने अख्तियारका प्रवक्ता सहसचिव प्रदीप कोइरालाले बताउनुभयो ।

आर्थिक वर्ष ०७४/७५ मा अख्तियारमा १९ हजार ४ सय ९९ उजुरी परेका थिए भने १२ हजार चार सयको फर्छ्योट भएको थियो, जसमध्ये १ सय ९४ उजुरीमात्र मुद्दासम्म पुगेको थियो। आर्थिक वर्ष ०६९/७० यता अख्तियारमा पर्ने उजुरीको संख्या ह्वात्तै बढेको छ।

आर्थिक वर्ष ०६९/७० मा ११ हजार २ सय ९८ उजुरी दर्ता भएकामा ९३ वटा मात्र अदालतसम्म पुगेका थिए।त्यसको लगत्तैको आर्थिक वर्षमा मात्र २२ हजार ६ सय २ उजुरी दर्ता भएका थिए जसमध्ये करिब आधा फछर््योट भयो भने एक सय ६८ उजुरी मात्र मुद्दामा पुगे। आर्थिक वर्ष ०७१/७२ मा ३१ हजार २ सय १३ उजुरी दर्ता भएकामा २१ हजार ६ सय ४८ उजुरीको फर्च्योट भएको थियो भने तीन सय ३ मात्र अदालतसम्म पुगे।त्यसपछि लगातार घटेको उजुरी संख्या गत आर्थिक वर्षमा भने बढेको हो।

आर्थिक वर्ष ०७२/७३ मा २४ हजार ६ सय ९१, ०७३/७४ मा १९ हजार पाँच सय ८० र ०७४/७५ मा १९ हजार चार सय ८८ उजुरी अख्तियारमा दर्ता भएका थिए। यी उजुरीमध्ये अदालतसम्म पुगेको दर निकै न्युन छ।

अख्तियार प्रवक्ता कोइरालाले सफलताका हिसाबले गत आर्थिक वर्ष उल्लेखनीय रहेको दावी समेत गर्नुभएको छ ।अदालतमा दर्ता गरेका मुद्दामध्ये ८८.५ प्रतिशतमा आफ्नो पक्षमा फैसला भएको अख्तियारले जनाएको छ।२०६१/ ६२ को आर्थिक वर्षपछि अख्तियारले सबैभन्दा बढी सफलता हात पारेको हो। आर्थिक वर्ष ०६१/६२ मा अख्तियारले अदालतमा दर्ता गरेकामध्ये ९१.५ प्रतिशत मुद्दामा उसको पक्षमा फैसला भएको थियो।त्यतिबेला एक सय ६ वटा मुद्दाको फैसला भएकामा ९७ वटा अख्तियारको पक्षमा थिए।

आर्थिक वर्ष ०७४/७५ मा ६७.८२ प्रतिशत मुद्दामा मात्र अख्तियारको पक्षमा फैसला भएको थियो। भष्ट्राचारसम्बन्धी मुद्दा विषेश अदालतले हेर्ने गर्छ। यसको फैसला वा आदेशको पुनरावेदन सर्वोच्च अदालतले हेर्छ। प्रवक्ता कोइराला सफलताको दर बढाउन अनुसन्धानलाई प्रभावकारी बनाउन अख्तियार दृढ रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू