अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको परीक्षण सफल

बिआरटीनेपाल २०७६ साउन ३ गते ९:५१ मा प्रकाशित

मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको शुक्रबार सफलता पूर्वक परीक्षण सम्पन्न भएको छ । भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगंजसम्म कुल २६८.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारी देखि अमलेखगंजसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाइपको परीक्षण गरिएको हो ।

पाइप परिक्षणका लागि भारतको पटनाबाट बुधबार दिउँसो २ बजे पानी , पिग (पानी र डिजल छुट्याउँन) र डिजल पठाइएको थियो । बिहीबार ६ बजे साँझ हावा , राती २ः३० बजे पानी हुँदै शुक्रबार बिहान ६ बजे डिजेल आउँन शुरु भएको विज्ञ इ. सरद पौडेलले जानकारी दिनुभयो । परिक्षणका लागि पहिलो चरणमा पानी र त्यस लगत्तै डिजल ल्याइएको र प्रति घण्टा तीन लाख लिटर डिजेल भित्र्याउन सकिने भए पनि परिक्षणका लागि शुक्रबार दश लाख लिटर डिजल ल्याइएको छ ।

सन् २००४ मा सम्झौता भएर २०१८ डिसेम्बरबाट निर्माण थालिएको यो परियोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि लक्ष्य भन्दा आठ महिना अघि नै सम्पन्न भएको छ । निर्धािरित अवधी भन्दा झण्डै आठ महिना अगाडि सम्पन्न भएको डिपो प्रमुख इन्जिनियर प्रदिप यादवले बताउनुभयो । पाइपलाइन निर्माणका लागि हालसम्म कुल तीन अर्ब २४ करोड भारतीय रुपैयाँ खर्च भएको छ । जसमध्ये नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत लगानी हुँने भनिए पनि हालसम्मको सबै खर्च भारतीय पक्षले नै व्यहोरेको इन्जिनियर यादवले जानकारी दिनुभयो ।

हाल ३१ लाख लिटर डिजलको भन्सार तिरी पाइपमार्फत तेल ल्याइएको र उक्त तेल मध्ये १० लाख लिटर ट्याङ्कीमा भण्डारण गरी बाँकी तेल पाइपलाइनमा नै राख्ने योजना रहेको निगमले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीले अगष्ट १५ भित्रको समयमा संयुक्त रुपमा उद्घाटन गरेपछि पाइपमार्फत तेल ल्याउने कार्य निरन्तर हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू