अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

कुखुराको खोरमा पसेको चितुवा नियन्त्रण गरी पोखरा जुलोजिकल पार्कमा छाडियो

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४८ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर पोखरा जुलोजिकल पार्क तथा बन्यजन्तु उद्दार केन्द्रमा राखिएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती चितुवा पसेको थियो।

डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीका अनुसार चितुवालाई डार्टिङ (वन्यजन्तुलाई बेहोस बनाउन टाढैबाट सुइ हान्ने प्रविधि) गरेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो ।

कुखुरा पालक केसीका अनुसार मंगलबार राती चितुवा खोरमा पसेको थियो। तर केसीले विहान मात्र खोरमा चितुवा देखेको जानकारी दिनुभयो । केसीले खोरको ढोका बन्द गरेर चिुतवालाई भित्रै थुनेर वन कार्यालयमा जानकारी गराउनुभएको थियो ।

प्रहरी सहितको वन प्राविधिक टोलीले केसीको घरमा पुगेर खोरबाट चितुवा निकाल्ने प्रयास गरेपनि नमानेपछि डार्टिङ गरेर निकालिएको हो । चितुवालाई नियन्त्रणमा लिनका लागि चितवनस्थित राष्ट्रिय निकुञ्जबाट डार्टिङ गर्ने प्राविधिक र चिकित्सकको टोलीले बुधबार डार्टिङ गरेर चितुवालाइ बाहिर निकालेको हो ।

खोरमा कुखुरा डराएर एकै ठाउँमा जम्मा हुँदा ५/७ वटा मर्ने बाहेक चितुवाले केही नोक्सान नगरेको जिल्ला बन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिनुभयो । डार्टिङपछि बेहोस भएको चितुवालाई उपचारपछि खोरमा थुनेर लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा पुर्याएर छाडिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू