अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

शान्तिपूर्ण राजनीतिमा आएमात्रै नेकपा विप्लव समुहसंग वार्ता हुने – सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ साउन २ गते ९:२२ मा प्रकाशित

सरकारले हिंसात्मक गतिबिधी छोडरे शान्तिपूर्ण राजनीतिमा आएमात्रै प्रतिबन्धित नेकपा विप्लव समुहसंग वार्ता हुने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) ले हिंसा छाडेर आएमात्रै वार्ता गरिने दोहोर्याउनुभयो । वार्ता गर्न सरकार सधैं तयार रहे पनि कुनै दाउपेच, शक्ति सञ्चयका लागि वार्ता नगरिने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले विप्लवले कुन कुन एजेन्डामा वार्ता गर्न चाहेको हो पहिले त्यो स्पष्ट हुनुपर्ने बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार संचार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले पत्रकारहरूको प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो । पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार नरहेको उहाँको भनाई थियो ।

बाँस्कोटाले वार्ताको नाममा बम पड्काउने खेल हुनसक्ने भएकोले सचेत हुनुपर्ने पनि बताउनुभएको छ । ‘संविधान मान्ने र हिंसा छाड्ने हो भने एक मिनेटमा वार्ता गरिने उहाको भनाई छ । अनौपचारिक वार्ता चलिराखे पनि औपचारिक रूपमा वार्ता गर्न पहिले हिंसा छाड्नुपर्ने बाँस्कोटाले प्रष्ट पार्नुभयो ।

प्रचारको लाभ लिन, दुनियाँलाई भुलभुलियामा पार्न वार्ता नगरिने उल्लेख गर्दै उहाँले हिंसा गर्ने समूहले सरकारसँग वार्ता गर्ने भनेको हिंसालाई वैद्यता प्रदान गर्नेजस्तो हुने टिप्पणी गर्नुभयो । विप्लव समुह सिके राउतझैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धामा आउनुपर्ने ठहर गर्दै मन्त्री बास्कोटाले होहल्ला मच्चाएर प्रचारको लाभ लिने चक्रमा सरकार नफस्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू