अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

नस्लवादीको टिप्पणी गरेको भन्दै राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३७ मा प्रकाशित

चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो ।

१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको संसद्बाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको मतलव संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन् । खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता रहँदैन ।

‘द स्क्वाड’ को नामले परिचित डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृ एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमारलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले गरेको ट्वीटको ब्यापक आलोचना भइरहेको छ ।

अधिकांशले ट्रम्पलाई नस्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नस्लवादी नभएको बताउदै आउनुभएको छ । यसअघि, ट्रम्पले चार महिला सांसदलाई अमेरिका छाड्न सुझाव दिनुभएको थियो । आफूले गरेको ट्वीटको चर्को आलोचना भएपछि राष्ट्रपति ट्रम्पले त्यो ट्वीट नस्लवादी नभएको र आफू पनि नस्लवादी नभएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू