अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

पोखराको विजयपुरमा बेलीब्रिज निर्माण अन्तिम चरणमा

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२५ मा प्रकाशित

पोखराको प्रवेशद्वार विजयपुरमा खोलामा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । द्रुत गतिमा भईरहेको निर्माणको काम असार मसान्तसम्म सक्ने लक्ष राखिएपनि सामान ढुवानी, निर्माणका लागि ढिलो मात्र सम्झौता भएकाले केही समय भने ढिला हुने भएको छ ।

अहिले भने बेलीब्रिजको जडान कार्य धमाधम भइरहेको छ । पुलको दुइतर्फ सडक समेत बनाउनुपर्ने भएकाले बढीमा साउनको १० गतेसम्म पुल सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ । बेलीब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनी सगरमाथा जेजेसँग वैशाख २२ गते सम्झौता भएको थियो ।

सडक डिभिजन कार्यालय पोखरा मार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माणको काम भइरहेको छ । बर्षालाई ख्याल गर्दै ठेकेदार कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर श्रीकृष्ण वरालले जानकारी दिनुभयो । हालसम्म पुलको ७० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै यहि रफ्तारमा काम गर्न सकिए अवको १० दिनमा पुल निर्माण भइसक्ने उहाँको भनाइ छ । बेलिब्रिज अस्थायी प्रकृतिको पुल हो ।

२ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुदैछ । पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ । २ करोड २० लाख रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू