अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

ह्यारिस्वर्गमा भानु जयन्ती

बिआरटीनेपाल २०७६ असार ३० गते १०:२३ मा प्रकाशित

ह्यारिस्वर्ग । २०६ औ भानुजयन्तीका अवसरमा पेन्सलभेनियाको ह्यारिस्वर्गमा आइतबार (जुलाई १४) मा कृति विमोचन, कृति चर्चा, रचना वाचन आदिसहितको साहित्यिक कार्यक्रम गरियो । उक्त कार्यक्रम नेपाली-भाषी भुटानी साहित्यप्रेमीको संस्था त्रिवेणी साहित्य मञ्चले गरेको थियो ।

कार्यक्रम २ वटा सिडी तथा एउटा गद्य-सङ्ग्रह विमोचन गरिएको थियो । विमोचित गीति-एलबमहरू: ”प्रशंसा” र ”बिहानीको शीतल” हुन् भने पुस्तकमा ममता (गीत/कवितासंग्रह) हो । प्रशंसा र बिहानीका सर्जक बालकृष्ण न्यौपाने हुन् भने ”ममता”का शेखर कोइराला हुन् । ”ममता”का कृतिकार कोइराला २०४० सालमा भुटान जन्मेका हुन् । 

”प्रशंसा” का गीतको रचनाकार, गायन र सङ्गीत न्यौपानेको एकल छ । यसमा ”प्रशंसा गर्छौ रे”, ”पहिले कतै”, ”सुनको मन्दिर”, ”जहाँ जान्छु त्यही”, ”अब यी अल्छी” (भिडियो भर्सन), ”वनमारा फुल्ने”, ”गालाको कालो”, ”मुटुभित्र तिम्रो माया”, ”अब यी अल्छी”, र ”प्रशंसा गर्छौ रे” (म्युजिक ट्रयाक) छन् । ”बिहानीको शीतल” मा ”बिहानीको शीतल”, ”कम्मरमा पटुकी”, ”तितो लाग्न थाल्यो”, ”उस्तै होला रहर”, ”उजाड यो शिशिरमा”, ”नमिल्नेलाई परी मिल्यो”, ”भुतुक्कै पार्‍यो”, ”बिहानीको शीतल” (म्युजिक ट्रयाक) छन् । यसका सङ्गीतकार सुनिल राई हुन् भने राईसहित दीपक लिम्बू, प्रताप दास, रवि ओड, मेलिना राई, र प्रविशा अधिकारीले गीत गाएका छन् ।

चर्चा गरिएको कृति ”सिमानाको सालिक” की श्रष्टा गीता पुडासैनी हुन् । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ”सिमानाको सालिक” मा ”सगरमाथाको सम्बोधन”, ”आइमाई, आमा र पत्नी”, ”सिमानाको सालिक” ”प्रयोगशालाबाट फर्कदा”, ”वधशाला र फुलहरूको मृत्यु”, ”विस्थापित जिन्दगी” लगायत ३० वटा कविता छन् ।

नवीन शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम पिआर दाहाल प्रमुख अतिथि तथा रिमेन आलोक र धना ज्योति विशेष अतिथि थिए । एक सय १ वर्षकी जेष्ट नागरिक विष्णुमाया पोख्रेललाई दोसल्ला सम्मान गरिएको थियो । कृतिहरूमा पत्रकार भक्त घिमिरे, साहित्यकार गण्डकी पुत्र, गोवर्द्धन पूजा, नारद आचार्य सुदामाले चर्चा गरे । सुमन राई (योञ्जन) ले गीत सङ्गीत र बालकृष्ण न्यौपानेका गीति एलबमबारे बोले । रचना वाचनसहित साहित्यनुरागी युवा विनय लुइँटेललाई दोसल्ला र भानुभक्तको तस्बिरले सम्मान गरिएको थियो ।

त्रिवेणी साहित्य मञ्चको स्थापना सन् २०१७ मा भएको हो । यसले महिनाको अन्तिम आइतबार सामूहिक रचना वाचन गर्दै आएको छ । उद्घोषण कार्यशाला, छन्द प्रशिक्षण, गजल प्रशिक्षण आदि गराउँदै आएको छ । ह्यारिसवर्ग र यस आसपासका क्षेत्रमा नेपाली-भाषी भुटानीको आबादी बाक्लिंदै गएको छ । 

प्रतिक्रिया