अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ प्राविधिक कारणले रोकियो

बिआरटीनेपाल २०७६ असार ३० गते ९:३६ मा प्रकाशित

भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ प्राविधिक कारणले रोकिएको छ । आन्ध्र प्रदेशबाट भारतीय समयअनुसार आज बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्ने भनिएको चन्द्रयानमा अन्तिम समयमा प्राविधिक गडबढी आएका कारण रोकिएको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्वीट गर्दै चन्द्रयान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ । चन्द्रयान प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द पनि श्रीहरिकोटामा पुग्नुभएको थियो । इसरोको अभियान सफल भएमा चन्द्रमा यान अवतरण गराउने भारत चौथो मुलुक बन्ने छ । यसअघि अमेरिका, चीन र पूर्वसोभियत संघले चन्द्रमामा यान अवतरण गराइसकेका छन् ।
भारतले पठाउने लागेको चन्द्रयान अहिलेसम्म अन्य मुलुकले पठाएको अन्तरिक्ष यान नपुगेको ठाउँमा पुग्ने छ । निकै नै जोखिमपूर्ण रहेको सतहसम्म प्रक्षेपण गर्ने तयारीमा रहेको यो चन्द्रयानको सफल परीक्षणले विश्वको अन्तरिक्ष इतिहासमा नयाँ आयाम कायम हुने विश्वास भारतले लिएको छ ।

यो अभियानका लागि भारतको सबैभन्दा शक्तिशाली ६ सय ४० टनको रकेट प्रयोगमा ल्याइनेछ । जसका लागि १ नासाका वैज्ञानिकसहित १३ भारतीय वैज्ञानिक रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय चन्द्रयानको मुख्य उद्देश्य चन्द्रमाको सतहमा पानीको खोजी गर्नु हो । प्रक्षेपण गर्न लागिएको चन्द्रयान दुई महिनापछि ३ लाख ८४ हजार किलोमिटरको यात्रा पूरा गरेर चन्द्रसतहमा पुग्ने विश्वास भारतको रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू