अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

संसद बैठक साउन ८ गतेसम्मका लागि स्थगित, सभामुखले फट्याई गरेको कांग्रेस सभापति देउवाको आरोप

बिआरटीनेपाल २०७६ असार ३० गते ९:२९ मा प्रकाशित

संघीय संसद् प्रतिनीधिसभाको बैठक साउन ८ गतेसम्मको लागि स्थगित भएको छ । सत्ता पक्षको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसद बैठक स्थगित गर्नुभएको हो ।

विपक्षी नेपाली कांग्रेस तथा राजपाले संसदको नियमित कार्यसूचिलाई थाँति राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेका थिए । कांग्रेस र राजपाले संसदमा बाढी पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । तर सत्ता पक्ष नेकपा भने सो प्रस्तावमा छलफल गर्न सहमत भएन र सभामुख महराले बैठक साउन ८ गते सम्मका लागि स्थगित गर्नुभयो ।

यसैबीच, संसद् बैठक स्थगित भएपछि विपक्षी दल कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखले फट्याई गरेको प्रतिक्रिया दिनुभएको छ । मुलुक बाढी पहिरोको बिपत्तिमा परेको बेला सबै एक हुनु पर्ने अवस्थामा सत्ता पक्ष त्यसका लागि इच्छुक नदेखिएको सभापति देउवाको आरोप थियो । सत्ता पक्षको आग्रहमा सभामुखले फट्याई गरेको उहाँले टिप्पणी गर्नुभयो ।

यसअघि असार २४ गतेको बैठकमा कांग्रेस र राजपाले नेत्रविक्रम चन्द विप्लवका नेता कुमार पौडेलको ‘इन्काउन्टर’ का सम्बन्धमा संसदीय छानविन समिति बनाउने पर्ने माग गर्दै अवरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू