अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

भानु जयन्ती मनाईयो

बिआरटीनेपाल २०७६ असार २९ गते १०:०६ मा प्रकाशित

आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती मनाईएको छ । भानु जयन्तीको अवसरमा राजधानी काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।

आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गर्नुभएको थियो । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि उक्त कृति नेपाली भाषा काव्य रचनाको माध्यम बनेको थियो ।

आदिकवि भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्जय आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा भएको थियो । बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका आचार्यले घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवाद थाल्नुभएको थियो । उहाँले आफनो जीवनकालमा रामायणका साथै बधुशिक्षा, प्रश्नोत्तरी, भक्तमाला लगायतका कृतिको रचना गर्नुभएको थियो ।

आज नेपाल र नेपाल बाहिर बस्ने सबै नेपाली भाषीले उत्तिकै श्रद्धापूर्वक भानुजयन्ती मनाएका छन् । भारतको सिक्किम, दार्जिलिङ, असम, देहरादुनका साथै प्रवासका अन्य स्थानमा पनि भानुजयन्ती उल्लासपूर्वक मनाईएको छ । भानुभक्तले प्रश्नोत्तरी–१९१०, भक्तिमाला–१९१०, बधुशिक्षा–१९१९ लगायतका कृतिहरु लेखेर नेपाली साहित्यको जग बसाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू