अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

एनआरएनएमा निर्वाचन प्रक्रिया संस्थागत भएको छ: विश्व बराल

बिआरटीनेपाल २०७६ असार २८ गते १९:१८ मा प्रकाशित

सदस्य वा मतदातालाई संस्थाको प्राण मान्ने हो भने निर्वाचन कुनै पनि संस्थाको आत्मा हो । निर्वाचनका माध्यमबाट मताधिकारको प्रयोग गर्दै आफ्नो प्रतिनिधि अर्थात् नेतृत्व चयन गर्ने अवसर मिल्दछ । बाह्य दबाब, चलखेल र स्वार्थगत तालमेलबाट बाहिर निकालेर मतदाता अर्थात् सदस्यहरू संस्थाका सर्वोच्च शक्ति हुन र उनीहरूको अधिकार क्षेत्रलाई क्षणभर पनि कटौती गर्न दिनुहुन्न भन्ने मान्यतालाई निर्वाचनले मात्र व्यवहारमा स्थापित गर्न सक्दछ । संस्था भित्र आन्तरिक प्रजातन्त्रको प्राण भर्ने र बाहिरी दुनियाँले देख्ने सुन्दर आभूषण निर्वाचन मात्र हो ।

यही कुरालाई मनन गर्दै गैह्र आवायिस नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अघिल्लो साधारण सभाबाट स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन म लगायत हाम्रो समूहलाई जिम्मेवारी प्राप्त भयो । गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका, अन्तर्राष्ट्रिय समन्वय परिषद् र अमेरिकाको प्रचलित कानुन बमोजिम निर्वाचन सम्पन्न गर्न दिएको जिम्मेवारीलाई हामीले पुरा गरेको यहाँहरूलाई सर्वविदित नै छ ।

गैह्र आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचन गराउँदै गर्दा हामीलाई विभिन्न खालका दबाब, वाधा, व्यवधान नआएका होइनन् । हामीले कुनै व्यक्ति र समूहको प्रभावमा नपरी विधि, विधानले दिए बमोजिम निर्वाचन सम्बन्धी मापदण्ड र मार्गनिर्दशन अनुरूप गरेका छौँ ।

निर्वाचन गराउन हामीले विधानको अधीनमा रहेर निर्वाचन सम्बन्धी मापदण्ड, निर्देशिका र कार्यविधि बनाएर काम गरेका छौँ । अर्को शब्दमा भन्नु पर्दा निर्वाचन प्रक्रिया संस्थागत भएको छ । यसले आगामी दिनमा निर्वाचन प्रक्रियालाई सरल र सहज बनाउने छ ।

निर्वाचन सम्पन्न गराउने प्रक्रियामा हामीलाई सहयोग गर्नुहुने गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका, अन्तर्राष्ट्रिय समन्वय परिषद्, पत्रकार, समाजसेवी एवं यस महान् कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई निर्वाचन आयोगका तर्फबाट हृदय देखि धन्यवाद दिन चाहन्छौ ।
धन्यवाद ।

जय एनआरएन !

विश्व बराल
प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग
एन आर एन ए

(गैह्र आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आठौँ साधारण सभामा बरालले राख्नु भएको मन्तव्य)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू