अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

आईतवारसम्म देशैभर अविरल वर्षा जारी रहने, बिभिन्न क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना

बिआरटीनेपाल २०७६ असार २८ गते ०:२० मा प्रकाशित

बिहीवारदेखि परिरहेको अविरल बर्षा आइतवारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशैभर भइरहेको अविरल वर्षा आज र भोलि देशैभर कायम रहने छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने अपेक्षा गरिएको छ ।

महाशाखाका अनुसार शनिवार दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । आज राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति नै तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने अनुमान छ ।

आइतबार दिउँसो, पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका केही स्थानमा भारी वर्ष हुने अनुमान छ । पूर्व र मध्य, पश्चिम पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । भोलि राति भने पूर्व मध्य क्षेत्रका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षको अनुमान छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार आज र आइतबार भोलि प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका चुरे क्षेत्र भई बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । महाशाखाका अनुसार आगामी दुई दिन पूर्वको कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नम्बर १ र २ का तराई क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने महाशाखाले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू