अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

अस्ट्रेलियालाई स्तब्ध बनाउँदै इङल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

बिआरटीनेपाल २०७६ असार २७ गते ८:५४ मा प्रकाशित

साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति इङ्ल्याण्डको बर्मिङ्घममा भएको सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब इङ्ल्यान्डले उपाधिका लागि आइतबार न्यूजिल्याण्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको थियो । इङ्ल्याण्ड र न्यूजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन राष्ट्र थपिने निश्चित भएको छ । इङ्ल्याण्ड र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् ।

सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २ सय २४ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्योे । घरेलु टोलीको जितमा जेसन रोयले सर्वाधिक ८५ रन जोड्दा जो रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन बनाएको थियो । अस्ट्रेलियाका स्टिभ स्मिथले ८५ रन जोड्दा अलेक्स क्यारेले ४६ रनको योगदान दिए । इङ्ल्याण्डसँगको हारसँगै अस्ट्रेलियाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल गुमाएको छ ।

यसअघि अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा ७ पटक जित निकालेको थियो । इङ्ल्याण्ड भने सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू