अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

सरकारविरुद्ध कांग्रेस र राजपा मोर्चाबन्दी, एकअर्काविरुद्ध नबोल्ने सहमति

बिआरटीनेपाल २०७६ असार २७ गते ८:४८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र राजपाका नेताहरु महन्थ ठाकुर, अनिल झा र राजकिशोर यादवबीच सरकारविरुद्ध संसदमा मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति भएको हो ।

असार २१ गते बूढानीलकण्ठस्थित देउवा निवासमा नेताहरुका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश ढंगको शासनशैलीको यात्रा रोक्न सदनभित्र सहमतिको दिशामा एक भएर जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

दुवै दलहरुका बीचमा मिल्ने मुद्दामा सहमति गरेर अगाडि बढ्ने र नमिल्ने मुद्दामा एक–अर्काको विरोधमा नबोल्ने पनि सहमति भएको खाँणको भनाई छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उहाँले राष्ट्रिय मुद्दामा सहमति गरेर अगाडि बढ्ने र नमिल्ने मुद्दामा संसदमा एक–अर्काको विरोध नगर्ने हामीबीच भद्र सहमति भएको जानकारी दिनुभयो ।

यसअघि, सहमतिअनुसार नै दुबै दलले सर्लाही गोलीकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै पहिलो पटक एकसाथ प्रतिनिधिसभामा बेल घेराउ र नाराबाजी गरेका थिए । कांग्रेस र राजपाबीच संसदीय समिति गठन नभएसम्म दुवै दलले सदनको कारबाही अवरुद्ध गर्ने र त्यो प्रक्रियाबाट पनि सरकारले नटेरे बहिष्कार गर्नेसम्मको रणनीति तय भएको छ ।

सरकारविरुद्ध दुई दल मोर्चाबन्दी गरेर अगाडि बढ्ने विषयमा असार २० गते कांग्रेस प्रमुख सचेतक खाँण, राष्ट्रियसभाका नेता सुरेन्द्र पाण्डे र राजपाका अध्यक्ष मण्डलका संयोजक अनिल झा, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवबीच सहमतिको प्रयास भएको थियो । कांग्रेस संसदीय दलको कार्यालयमा गरिएको सहमतिको प्रयासलाई दुवै दलले गोप्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू