अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

फाइनल पुग्न इङ्ल्यान्डलाई अस्ट्रेलियाको २२४ रनको चुनौती, पूर्व कप्तान स्मीथको मात्र अर्धसतक

बिआरटीनेपाल २०७६ असार २६ गते ८:१४ मा प्रकाशित

इङ्ल्यान्ड र वेल्समा जारी १२ औँ एकदिवशीय विश्वकप क्रिकेटअन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन जोड्यो। १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले मात्र सम्हालिएर खेले। स्मीथले ८३ रन बनाए। एलेक्स कारेले ४६ रन बनाए।

स्मीथ र कारेले चौथो विकेटका लागि एक सय ३ रनको साझेदारी गरेपनि पुरा समय दबाबमा रह्यो। टोलीले एक सय १७ रन जोड्दा कारे चौथो विकेटका रुपमा आउट भएपछि अस्ट्रेलिया थप दबाबमा आएको थियो। तेस्रो नम्बरमा ब्याटिङमा आएका स्मीथले छैटौँ विकेटका लागि ग्लेन म्याक्सवेलसँग ३९ र सातौँ विकेटका लागि मिचेल स्टार्कसँग ५१ रनको साझेदारी गरे। माथिल्लो क्रमका डेभिड वार्नर ९, एरोन फिन्च शुन्य र पिटर ह्यान्ड्सकम्ब ४ रनमा आउट भएपछि अस्ट्रेलिया १४(३ को स्थितीमा देखिएको थियो। म्याक्सवेलले २२ र स्टार्कले २९ रन बनाए। स्मीथले १ सय १९ बलमा ६ चौका हिर्काए।

इङ्ल्यान्डका बलर अदिल रसिद र क्रिस वोक्सले तीन तीन विकेट लिए। जोफ्रा आर्चरले दुई विकेट हात पारे। आर्चरले १० ओभरमा ३२ र रसिदले १० ओभरमा ५४ रन दिए। यो खेलको विजेताले उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। न्युजिल्यान्डले बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराएको थियो। अस्ट्रेलियाले यो खेलमा हार ब्यहोरे एकदिवशीय विश्वकपले २३ वर्षपछि नयाँ विजेता पाउने छ। सन् १९९६ मा श्रीलंका विजेता बनेयता विश्वकपले नयाँ विजेता पाउन सकेका छैनन्। हालसम्म यो प्रतियोगिता अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई दुई पटक तथा पाकिस्तान र श्रीलंकाले एकएकपटक जितेका छन्। न्युजिल्यान्ड एक र इङ्ल्यान्ड तीनपटक फाइनल पुगेर पनि उपाधि भिडन्तमा निराश भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू