अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 18:13

बोल्ने सालिक: कृति समीक्षा

भक्त घिमिरे २०७६ असार २६ गते ८:०७ मा प्रकाशित

कृति :-सिमानाको सालिक

कृतिकार :-गीता पुडासैनी

प्रकाशक:-नुवाकोट साहित्य प्रतिष्ठान नेपाल

प्रकाशन वर्ष :-विसं २०७५

आई.एस.बी.एन. न० :-९७८-९९३७-०-४६७०-१

मूल्य :- १५० (ने.रु.)

सारांश:
आफ्नो भावनाका जम्मा ३० वटा पन्तुराहरु एउटा कृतिमा मुठो पारेर हाम्रो हातमा राखिदिएकी छन् गीता पुडासैनीले । हो त्यही एक मुठो कृतिको नाम हो ‘सिमानाको सालिक’ जो आफ्नो निर्जीवतामा गीता पुडासैनीको भावनात्मक ऊर्जा हालेर आम जीवनको गति बुझ्न घरदेशदेखि परदेशसम्म विचरण गरिरहन्छ । कवि गीता पुडासैनीको भावनामा उभिएर त्यो बोलिरहन्छ । देशको वर्तमानसित उदास भएर विषाद चिन्तन गर्ने अनि सुखद चिन्तनमा न्याय र समानताको आवाज पनि उठाइरहेको छ सिमानामा उभिएको त्यो सालिक । त्यसैले म यसलाई ‘बोल्ने सालिक’ भन्न रुचाइरहेको छु । पुडासैनीका कवितामाथि टिप्पणी गर्दै नेपाली साहित्यका धुरन्धर कवि श्यामलले उनको कृति ‘सिमानाको सालिक’ मा लेखेका छन्,“गीता पुडासैनीका कविता नेपाली ग्रामीण नारीका असहज सांस्कृतिक जीवनका उछ्वासहरु हुन्…!” तर, म भन्छु स्रष्टा पुडासैनीका कविताहरू नारीका मात्र होइनन्, ‘पाखुरा’का उदगारहरु पनि हुन् । जिन्दगीको दार्शनिक पक्ष केलाउँदै सोही कृतिमा मन्तव्य राख्ने क्रममा अर्का कवि ज्योति जङ्गल भन्छन्,“जिन्दगी प्रयोगशालामा परीक्षण गर्न सकिँदैन । न जिन्दगीको लिंगीय आयामबाट सामाजिक प्रश्नहरू सकिएका छन् !” यदि यसो हो भने कवि श्यामलको विचार यहीँनेर काटिएको छ । यसर्थ, गीता पुडासैनीका कविताहरू असहज नारी जीवनका उछ्वासहरुमात्र होइनन् । यी कविताहरू समग्र सामाजिक जनजीवनलाई अभिव्यक्त गर्ने सजीव हरफहरू पनि हुन् ।

‘सगरमाथाको सम्बोधन’ शीर्षकीय कवितामार्फत सर्जक सुरुमै हिमालको उचाइ र समुद्रको गहिराइसँग मानवीय संवेदनाहरूलाई जोडिदिन्छिन् । यसरी नै ‘आइमाई, आमा र पत्नी’ शीर्षकमा उनको अर्को सशक्त कविता बगेको छ ।

नेपाली भूगोलको इतिहासमा सामेल नालापानीको युद्धको झलक झैँ लाग्ने निम्न प्रस्तुतिले वीरतापूर्ण आर्यसभ्यताको चर्चा पनि उठाएको छ । 

“आइमाई हुनुको पर्याय
चुरा बजाउनु मात्र हैन…!”
…………………….
“यदि पढिरहेका छौ भने
आर्य सभ्यताको इतिहास
तिमीले
त्यो पनि पढेको हुनुपर्छ
सन्तानको गर्धन
छातीमा च्यापेर
तरबार उठाएकी आइमाई…!” (कविता शीर्षक आइमाई, आमा र पत्नी)

कविताको लक्षण वा आर्यसभ्यताको प्रसङ्ग जहिलेको, जहाँको भए पनि नारी जीवनलाई अवहेलित नोकर-चाकरको दर्जामा राख्ने हाम्रो समाजलाई ललकारेको छ कविताले । आर्यसभ्यतामा आइमाईहरू कमजोर थिएनन्, अहिले पनि आइमाईहरू कमजोर बन्नु हुँदैन भन्ने मूल सन्देशसहित आइमाईको हैसियत दबाउन चाहने पुरुष प्रवृत्तिसमक्ष चुनौती बनेर उनी उभिन्छिन्-

“आइमाईको अबोधपनभित्र
आइमाई मात्र हुँदैन
यति तिमीले बिर्सिएका छैनौ भने
हिजो मात्र हो तिमीलाई
आइमाईको गर्भबाट जन्माइएको !”

सोही कवितामा आग्रह, याचना र गुनासोको रूपमा विपरीत लिंगीय अवधारणाहरूलाई सम्झाउँदै स्रष्टा समन्वयकारी भूमिकामा भन्छिन्-

“पत्नी हुनुको पर्याय
पराजित हुनु हुँदै हैन
किन बुझ्दैनन् मेरा पिता?
मेरा दाजुभाइ ?

किन बुझ्दैनन् मेरो प्रेमी–
जसले युगदेखि पर्खिरहेको एक झुल्को प्रकाश
पत्नी हृदयको
प्रेम आँचलबाटै
प्राप्त गर्छन् ?”

आइमाई, आमा र पत्नीमा के फरक छ ? भन्दै प्रश्नको चुनौती दिएर समाजलाई सोच्न बाध्य पार्ने स्रष्टा पुडासैनी स्वयं नारी भएर आफ्नो अस्तित्वको मात्र चिन्तन गरिरहेकी छैनन् । यहाँ समाज, देश, समग्र जीवन र जगतको चिन्तन समेटिएको छ ।

गीता पुडासैनीका कविताहरू ठुलो दोष लगाउन मिल्ने खालका छैनन् । यद्यपि, सामान्य पाठकहरूलाई बुझ्न कठिन हुने लक्षण पनि नभएकाचाहिँ होइनन् उनका कवितामा । केहीमा चाम्रो बौद्धिकता समेटिएको छ उनका कविताहरूमा । हुन त शङ्कर लामिछानेको ‘अब्सट्राक चिन्तन प्याज’देखि इन्द्रबहादुर राईका आयामेली कविताहरू सामान्य पाठकका लागि अप्ठ्यारोमा फलेको तरुल जस्तै होलान् । गीता पुडासैनीका कवितामा त्यति धेरै बौद्धिकताको कब्जियत पक्कै पनि छैन । जे होस्, समग्रमा गीता पुडासैनीका कविताहरू साहित्यिक आकाशको मूल गन्तव्यमा पुग्नलाई यात्राको एक चौथाइ नाघ्दै गरेको बटुवाझैँ लाग्दछन् ।

मैले ‘सिमानाको सालिक’ का स्रष्टा गीता पुडासैनी नामको व्यक्तित्व चिनेको छैन । कहिल्यै देखेको वा बोलेको पनि छैन । केवल केही शब्दहरू हामीले साटासाट गरेका छौँ । अतिसंक्षेप जानकारी अनुसार उनको यो प्रथम कृति हो । कुनै पहिलो कृतिवाला कविका कविताहरू यस्तै हुन्छन् भन्ने कुनै स्थापित मान्यता वा मानक त बनेको छ जस्तो लाग्दैन । यद्यपि, गीता पुडासैनीको कवित्वकला हेर्दा उनी कुनै सशक्त कविभन्दा कम छैनन् ।

निष्कर्षः
कविताको नाममा यसरी सिङ्गो देश बोकेर उभिएका गीता पुडासैनीजस्ता लेखक, स्रष्टाहरूलाई बँचाउनुपर्ने दायित्वबोध समाजले गरोस् । कवि, लेखकजस्ता साहित्यका कृषकहरूले लेखेरै गाँठो र पस्यौटीमा नपुगेसम्म जीवनको डोरी बाटिरहन पाउने सहजता अनुभूत गर्न सकुन् !

सुझाव :
वर्तमान परिवेशको मानवीय जीवनयात्रामा आधुनिक यन्त्रप्रविधिले प्रवेश गरेको छ । यसले अधिकांश युवा-ऊर्जालाई यान्त्रिक बनाउँदै लगेको छ । सो अवस्थामा कसैले कसैको भावनाहरूको पैरवी गर्ने कुरै भएन । यसका अतिरिक्त अहिले सामाजिक जीवनको गति नै तितर-बितर छ । व्यक्ति, परिवार, समाज, समुदाय, क्षेत्र हुँदै समग्र देशको पहिचान बन्ने प्रक्रिया अहिले भङ्ग भइसकेको छ । यति बेला उपार्जनको लक्ष्यले मान्छेहरूलाई परिवार र समाजबाट फुटाइसकेको छ । चालिस वर्ष कटेपछिको बुढ्यौलीमा मात्रै जीवनको उमङ्ग र रसपूर्ण सहचर्य भोग्न सकिने अर्थमा ‘साइँली’ बोलको गीतै बनेको कुरा कसैलाई मैले बुझाइरहनु पर्नेछैन । यो परिवेशमा युवापुस्ता कला, साहित्य, सामाजिक, नैतिक अनुशासनका आधारहरूबाट पूर्णतः विमुख भइरहेको छ । यो बेला साहित्यका उत्पादक, शब्दका कृषकहरूले एकदमै संवेदनशील बनेर आफ्नो खेती बढाउनु जरुरी भएको छ ।

हामीले साहित्यको इतिहास पनि पढ्दै आएका छौँ । उहिलेका शासकहरूले लेखेकै कारण कवि र लेखकहरूलाई कैद गरेका, हत्यासमेत गरेका छन् । तर, त्यसको सकारात्मक पाटो के छ भने कविका कलाशिर्जनाले कैयौँ शासकहरूलाई प्रभावित पनि बनाएको छ । कविता सुनेरै उनीहरूले नीतिव्यवस्थामा सुधार पनि गरेका छन् । नकारात्मक, सकारात्मक दुवै प्रवृत्तिमा एउटा कुरो के निश्चित हुन्छ भने उहिले साहित्यको मूल्य तत्कालै समाजमा लागू हुन्थ्यो । कसले के लेख्यो वा लेख्तैछ भनेर खोजी नै भइरहन्थ्यो ! तर, आज कसले के लेख्तैछ भनेर हेर्ने वा खोजी गर्ने फुर्सद धेरै मानिसहरूलाई हुँदैन । त्यसर्थ धेरैको ध्यान तान्नलाई केही सर्जकहरूले आफ्नो कृतिलाई अतिरञ्जनपूर्ण पनि बनाइदिन्छन् । यस्तो अतिरञ्जनबाट कवि पुडासैनी मुक्त छिन् ।

यस अर्थमा गीता पुडासैनीले भन्दा पनि पहिले पनि धेरै कविले धेरै कविता लेखेका छन्, प्रकाशित गरेका छन् । तर, ती सिर्जनामा सम्मिलित सन्देशहरूलाई समाजले कतिको उपभोग गऱ्यो होला ? यो प्रश्न सर्जकहरूले आफैँलाई गर्नुपर्ने दिन आएको छ । यो म किन भनिरहेको छु भने यति बेला संसारभरि नै लिखित साहित्य पढ्नेहरूको सङ्ख्या द्रुत गतिमा घटिरहेको छ । अझ नेपालीका पाठकहरूको त कुरै नगरौं । गीता पुडासैनीको सिमानाको सालिक प्रकाशित भएको वर्षै भइसक्यो । खै कति पाठकको नजरको सिमानासम्म पुग्यो, त्यो भन्न सकिन्न ! अब उनले पनि आफ्ना कृतिका भावीपुस्ताहरु जन्माउनअघि प्रकाशित कृतिको उपभोग कति भएको छ भनेर निर्धारित गर्नु श्रेयस्कर हुनेछ ।

(लेखक भक्त घिमिरे, साहित्य परिषद्-भुटानका पूर्वाध्यक्ष र हालः पेन्सिलभेनिया/अमेरिका बस्नुहुन्छ । )
प्रतिक्रिया